खल्लो बन्यो ब्राभोको करेबियन भूमिमा अन्तिम खेल

२०७८ श्रावण २०, बुधबार १०:१७

पाकिस्तान र वेस्टइन्डिज बीचको ४ खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत गय राति चौथो खेल पनि वर्षाको कारण नतिजाविहिन टुंगिन पुग्यो। खेलमा टस हारेर ब्याटिंग गरेको वेस्टइन्डिजले ३ ओभरमा विकेट नगुमाई ३० रन बनाउदा वर्षाले खेल रोकिएको थियो जसपछि खेल सुचारु हुन सकेन।  सिरिज अन्तर्गत यस अघि पहिलो र तेश्रो खेल पनि नतिजाविहिन रहेको थियो भने दोश्रो खेल पाकिस्तानले जितेको थियो त्यसैले १-० ले पाकिस्तानले सिरिज पक्षमा पार्यो।

सिरिजको अन्तिम खेल ड्वेन ब्राभोको करेबियन भूमिमा अन्तिम खेल थियो। अन्तिम खेलमा ब्राभोको घरेलु मैदानमा वेस्टइन्डिजको जर्सीमा उभिने सपना पुरा हुन सकेन। यस अघिनै टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रियबाट सन्यास घोषणा गरिसकेका ब्राभोले यो नै घरेलु भूमिमा आफ्नो अन्तिम खेल हुने खेल अघि घोषणा गरेका थिए। अन्तिम पटक करेबियन भूमिमा ब्राभोको प्रदर्शन हेर्न नपाउनु उनका समर्थकहरुको लागि खल्लो अनुभव रह्यो।

ब्राभोले अक्टोबर १७ तारिख देखि युएई र ओमानमा खेलिने २०२१ टि-ट्वान्टी विश्वकप पछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनेछन्। वेस्टइन्डिज क्रिकेटले सामाजिक संजालमार्फत ब्राभोको करेबियन भूमिको टि-२० अन्तर्राष्ट्रिय यात्रा समाप्त भएको पोस्ट लेख्दै उनलाई धन्यवाद दिएको छ।

ब्राभोले अक्टोबर २०१८ मा क्रिकेटको सबै फर्म्याटबाट सन्यास लिईसकेका थिए। अत्र उनि डिसेम्बर २०१९ मा पुनः टि-२० अन्तर्राष्ट्रियमा फर्किएका थिए। उनले २०१५ मा टेस्ट क्रिकेटलाई विदा गरेका थिए। २०१६ मा वेस्टइन्डिजले विश्वकप जित्दा अलराउण्डर ब्राभोले महत्वपूर्ण योगदान दिएका थिए। यस्तै २०१२ मा वेस्टइन्डिजले पहिलो टि-ट्वान्टी विश्वकप जित्दा समेत उनि टिमको महत्वपूर्ण सदस्य थिए।

२००४ मा टेस्ट र एकदिवसीय डेब्यु गरेका ३७ वर्षीय ब्राभोले वेस्टइन्डिजको लागि ४० टेस्ट, १६४ एकदिवसीय र ८६ टि-२० अन्तर्राष्ट्रियमा प्रतिनिधित्व गरे। यस क्रममा उनले टेस्टमा २२०० रन र ८६ विकेट, एकदिवसीयमा २९०० रन र १९९ विकेट तथा टि-२०मा १२२९ रन र ७६ विकेट लिए।

डेथ ओभरमा घातक बलिंग गर्ने क्षमता भएका ब्राभो वेस्टइन्डिजको टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेटकर्ता हुन्। उनले गत महिना दक्षिण अफ्रीका बिरुद्ध १९ रन खर्चेर ४ विकेट लिनु करियरको उत्कृस्ट स्पेल थियो।

अन्तर्राष्ट्रिय क्रिकेट बाहेक ब्राभो आईपीएल र अन्तर्राष्ट्रिय लिगको प्रदर्शनको कारण पनि परिचित छन्। अन्तर्राष्ट्रिय क्रिकेट पछि उनले यो वर्ष आईपीएलबाट पनि सन्यास लिने सम्भावना रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy