“हिजो झैँ लाग्छ तपाईंले नेपालको लागि पहिलो ओभर गर्न बोलाएको”

२०७८ श्रावण २०, बुधबार १२:०७

मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काको योगदानलाई सम्झदै स्टार लेग स्पिनर सन्दिप लामिछानेले सामाजिक संजालमा भावुक पोस्ट गरेका छन्।

२०१४ को टि-ट्वान्टी विश्वकपको हंगकंग बिरुद्ध पारसको प्रदर्शन सम्झदै सोहि प्रदर्शनले आफूलाई क्रिकेट एकेडेमी भर्ना हुन प्रेरित गरेको सन्दिपले लेखेका छन्- “तपाईंले २०१४ को एक खेलमा हंगकंग बिरुद्ध बनाउनु भएको ४१ रन र पहिलो बलको विकेट, जसले एउटा सानो केटालाई नेपालको प्रतिनिधित्व गर्ने सपना दियो। सोहि खेल हेरे पछि उ क्रिकेट एकेडेमी भर्ना भएको थियो।”

सन्दिपले नेपालको लागि २०१६ मा डेब्यु गरेको पल समेत सम्झिएका छन् – “हिजो झैं लाग्छ तपाईले मलाई डिप मिड-विकेटबाट बोलाउदै नेपालको लागि पहिलो ओभर गर्न लगाएको र मलाई ढुक्क हुन र रमाउन भनेको। त्यो उसको जीवनकै सुन्दर याद हो र ऊ इश्वर प्रति धन्य छ कि उसले नेपालको सबैभन्दा ठूलो खेलाडीको अन्डरमा डेब्यु गर्ने मौका पायो।” सन्दिपले २०१६ को आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबिया बिरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरेका थिए। पोस्टमा उनले उक्त खेलको फोटो समेत राखेका छन्।


सन्दिपले पारसको सन्यास चाडै लिएको महसुस गरेता पनि निर्णयको सम्मान गर्ने लेखेका छन् – “तपाईले महान विरासतलाई पछाडी छोड्नु भएको छ। एउटा महान व्यक्ति जसले नेपाली क्रिकेटलै सबथोक सुम्पेको छ। म दुखित छु कि केहि चाडै छोड्ने निर्णय लिनु भएको छ तर म तपाईको निर्णयको सम्मान गर्छु र दोश्रो इनिंग्सको लागि शुभकामना दिन चाहन्छु। तपाईको यादको सुगन्धहरु रहीरहनेछ। म शव्दविहिन भएको छु। नेपाललाई सेवा गर्नु भएकोमा धन्यवाद। हामि सधै तपाईको निस्वार्थ स्वभावको लागि ऋणी रहनेछौँ। भगवानले तपाईलाई आशीर्वाद प्रदान गरुन्।”

पारसको उपलब्धि 

सन् २००४ मा मलेसिया बिरुद्ध आईसीसी इन्टरकन्टिनेन्टल कपमा नेपाली राष्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरेका उनले त्यस अघि नेपाली उमेर समुह टिमको प्रतिनिधित्व गरेका थिए।

नेपाली क्रिकेट टिमको सर्वाधिक सफल कप्तान पारसको सबैभन्दा ठुलो उपलब्धि नेपाललाई २०१४ टि-२० विश्वकप पुर्याउनु हो। नेपाली सिनियर टिमले पहिलो र अन्तिम पटक विश्वकपमा सहभागिता जनाएको थियो। त्यस बाहेक पारसको कप्तानीमा नेपालले २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाउनु ठूलो उपलब्धि रह्यो। उनकै कप्तानीमा नेपालले २०१८ मा नेदरल्याण्ड बिरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जित हाँसिल गरेको थियो।

पारसको कप्तानीमा नेपालले सन् २०१० को आईसीसी विश्व क्रिकेट लिग डिभिजन-५, २०१२ को डिभिजन-४, २०१३ र २०१४ को डिभिजन-३ प्रतियोगिताको उपाधि जित्न सफल रह्यो। यस्तै उनकै कप्तानीमा २०१२ को एसीसी ट्रफीमा नेपाल युएईसंगै संयुक्तविजेता बन्न सफल भएको थियो।

२०१९ अक्टोबरमा पारसले राष्ट्रिय क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिएका थिए जसपछि ज्ञानेन्द्र मल्लले नेपालको कप्तानी सम्हालीरहेका छन्। सन् २००९ मा नेपालको कप्तानी सम्हालेका पारस सबैभन्दा धेरै वर्ष नेपालको कप्तानी गर्ने खेलाडी हुन्।

पारसको कप्तानीमा नेपालले २७ वटा टि-२० अन्तर्राष्ट्रिय खेल्यो जसमा नेपालले ११ जित र १५ हार बेहोर्यो। यस्तै उनले ६ एकदिवसीय अन्तर्राष्ट्रियमा नेतृत्व गर्दा ३ खेलमा जित र ३ खेलमा नेपालले हार बेहोर्यो।

पारस नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय र टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रनकर्ता हुन्। उनले एकदिवसीयमा १० खेलमा १ शतक र १ अर्धशतक मद्दतले ३१५ रन तथा टि-२० मा ३३ खेलमा १ शतक र ४ अर्धशतक मद्दतले ७९९ रन बनाएका छन्। दुवै फर्म्याटमा शतक प्रहार गर्ने उनि पहिलो नेपाली खेलाडी समेत हुन्। उनले २०१९ मा युएई बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा तथा सोहि वर्ष सिंगापुर बिरुद्ध टि-२० अन्तर्राष्ट्रियमा शतक बनाएका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy