नेपाली राष्ट्रिय टिमले सेप्टेम्बरमा ओमानमा खेल्ने विश्व कप लिग-२ अन्तर्गतको ओमान र अमेरिकासंगको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अघि पपुवा न्युगिनीसंग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने योजना बनाएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक सिरिजको लागि बिहिबार अभ्यास सुरु गरेको छ जुन क्रममा मिडियासंग कुराकानी गर्ने क्रममा टिमका मुख्य प्रशिक्षक डेभ व्हाटमोर र कप्तान ज्ञानेन्द्र मल्लले सिरिज अघि अभ्यासको लागि पपुवा न्यु गिनीसंग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्न कुराकानी भइरहेको बताएका हुन्। सिरिज हुने अधिकारिक घोषणा भने हुन बाँकी रहेको छ।
पपुवा न्यु गिनी अक्टोबर १७ देखि ओमान र युएईमा आयोजना हुने टि-ट्वान्टी विश्वकप खेल्न छनोट भएको टोलि हो। २०१९ टि-२० विश्वकप छनोट प्रतियोगितामा दोश्रो स्थान हाँसिल गर्दै पपुवा न्यु गिनी पहिलो पटक टि-२० विश्वकप खेल्न छनोट भएको थियो। टि-२० विश्वकपको पहिलो चरणमा पपुवा न्यु गिनी आयोजक ओमान, बंगलादेश र स्कटल्याण्डसंग समुह ‘बि’ मा रहेको छ।
विश्वकपको तयारीको क्रममा ओमानमा हुने हुनाले सो अवसरलाई नेपालले उपयोग गर्न लागेको हो। पपुवा न्यु गिनीसंग हालसम्म नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छैन। २०१८ को एकदिवसीय विश्वकप छनोटमा नेपालले अन्तिम पटक पपुवा न्यु गिनीसंग खेल्दा नेपाल ६ विकेटले विजयी भएको थियो।
ओमान र अमेरिका संगको सिरिज सेप्टेम्बर दोश्रो साता हुने बताईएको छ जसको औपचारिक तयारी बिहिबार नेपाली टिमले थालेको छ। तयारीको लागि क्यानले बुधबार १९ सदस्यीय बन्द प्रशिक्षण टोलिको घोषणा गरिसकेको छ। अभ्यासको पहिलो दिन सन्दिप लामिछाने, सोमपाल कामि र गुलशन झा अनुपस्थित रहेका थिए। युवा फास्ट बलर गुलशन पहिलो पटक राष्ट्रिय टिमको बन्द प्रशिक्षण टोलिमा अटाएका हुन्।
ओमान, अमेरिका त्रिकोणात्मक सिरिजको लागि प्रारम्भिक नेपाली टोलि : ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी , करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, कमल सिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, सुशन भारि, शरद भेसावकर , विक्रम सोब, पवन सर्राफ, रोहित पौडेल, गुलशन झा
