ओमानद्वारा मुम्बईलाई सिरिज खेल्न प्रस्ताव

२०७८ श्रावण २५, सोमबार ०९:०४

अक्टोबर १७ देखि सुरु हुने टि-२० विश्वकपको तयारि स्वरूप ओमानले अगष्टको दोस्रो साता मुम्बईसंग टि-२० सिरिज आयोजना गर्न मुम्बई क्रिकेट संघलाई प्रस्ताव राखेको छ। २०२१ टि-२० विश्वकप ओमान र युएईले संयुक्त रुपमा आयोजना गर्दैछ।

ओमानका क्रिकेट विकास प्रमुख दुलिप मेन्डिसले प्रस्ताव पठाइसकेको जसपछि ओमान मुम्बई क्रिकेट संघको प्रतिक्रियाको प्रतीक्षामा रहेको छ। मुम्बई क्रिकेट संघले उक्त प्रस्ताव बारे यसै साता छलफल गरेर निर्णय गर्नेछ।

“यसबारे छलफल भैरहेको छ। हामीले प्रस्ताव बारे विचार गर्नु अघि अन्य जानकारी र प्रक्रियागत कुराहरु प्रतीक्षा गरिरहेका छौं।” मुम्बई क्रिकेट संघका एक पदाधिकारीले क्रिकइन्फोसंगको कुराकानीमा बताए “आगामी घरेलु सिजन सुरु हुनु अघि केहि प्रि-सिजन खेल पाउनु राम्रो अवसर हो।”

ओमानले २०२० मार्च अर्थात् कोरोना महामारी यता कुनै पनि प्रतिस्पर्धात्मक खेल खेलेको छैन। लगातार दोस्रो पटक विश्वकपमा सहभागी हुन लागेको ओमानले हाल बन्दप्रशिक्षण र इन्ट्रा-स्क्वाड खेलहरु खेलिरहेको छ।

ओमानसहित बंगलादेश, पपुवा न्यु गिनी र स्कटल्याण्ड विश्वकपको पहिलो चरणमा समुह ‘बि’ मा रहेका छन्। यी खेलहरु ओमान स्थित मस्कटमा खेलिनेछ। सुपर १२ अर्थात अर्को चरणमा पुग्नका लागि ओमान समुहको शिर्ष-२ मा रहनु पर्ने हुन्छ।

गत सिजन विजय हजारे ट्रफी र राष्ट्रिय एकदिवसीय च्याम्पियनसिप जितेको मुम्बईले ओमानसंग सिरिज खेल्ने निश्चित भएको खण्डमा आफ्नो दोश्रो रोजाईको टिम खेलाउन पर्नेछ। आईपीएल नजिकिएको कारण नियमित कप्तान श्रेयस अय्यर, पृथ्वी श, आदित्य तारे, सुर्यकुमार यादव, धवल कुल्कर्नी जस्ता आईपीएलमा सहभागी हुने प्रमुख खेलाडीहरु टिममा हुनेछैनन्।

यस्तै, ओमानले विश्व कप लिग-२ अन्तर्गत सेप्टेम्बरमा ओमान, नेपाल र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गर्ने तालिका समेत रहेको छ। उक्त सिरिजको लागि नेपाली क्रिकेट टिमले बन्द प्रशिक्षण सुरु गरिसकेको छ। सिरिज अघि नेपालले ओमानमा टि-२० विश्वकपमा सहभागी हुने टोली पपुवा न्यु गिनीसंग दुई वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज खेल्ने प्रवल सम्भावना रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy