क्यानको निर्णय : पारसको जर्सी नम्बर ७७ पनि रिटायर्ड

२०७८ श्रावण २४, आईतवार १५:००

Paras Khadka

नेपाल क्रिकेट संघले ( क्यान  ) राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले प्रयोग गर्ने गरेको जर्सी नम्बर ७७ अन्य खेलाडीलाई प्रयोग गर्न नदिने निर्णय गरको छ। क्यानले पारस खड्काको योगदानको सम्मान गर्दै उक्त निर्णय गरेको बताएको छ।

नेपाल क्रिकेट संघले पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेटरलाई यस्तो सम्मान दिएको हो। पारसले जर्सी नम्बर ७७ आफ्नो जन्मदिनको प्रतिकको रुपमा प्रयोग गरेका थिए। उनको जन्म २०४४ सालको सातौँ महिना अर्थात् कार्तिक ७ गते भएको थियो।


पारसले अन्तिम पटक नेपालको जर्सी नम्बर -७७ लगाएर गत वर्ष मार्चमा थाइल्याण्डमा आयोजित एसीसी इस्टर्न रिजन टि-२० प्रतियोगिता खेलेका थिए।

नेपाली क्रिकेट टिमको सर्वाधिक सफल कप्तान पारसको सबैभन्दा ठुलो उपलब्धि नेपाललाई २०१४ टि-२० विश्वकप पुर्याउनु हो। नेपाली सिनियर टिमले पहिलो र अन्तिम पटक विश्वकपमा सहभागिता जनाएको थियो। त्यस बाहेक पारसको कप्तानीमा नेपालले २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाउनु ठूलो उपलब्धि रह्यो। उनकै कप्तानीमा नेपालले २०१८ मा नेदरल्याण्ड बिरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जित हाँसिल गरेको थियो।

पारसको कप्तानीमा नेपालले सन् २०१० को आईसीसी विश्व क्रिकेट लिग डिभिजन-५, २०१२ को डिभिजन-४, २०१३ र २०१४ को डिभिजन-३ प्रतियोगिताको उपाधि जित्न सफल रह्यो। यस्तै उनकै कप्तानीमा २०१२ को एसीसी ट्रफीमा नेपाल युएईसंगै संयुक्तविजेता बन्न सफल भएको थियो।

२०१९ अक्टोबरमा पारसले राष्ट्रिय क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिएका थिए जसपछि ज्ञानेन्द्र मल्लले नेपालको कप्तानी सम्हालीरहेका छन्। सन् २००९ मा नेपालको कप्तानी सम्हालेका पारस सबैभन्दा धेरै वर्ष नेपालको कप्तानी गर्ने खेलाडी हुन्। पारसको कप्तानीमा नेपालले २७ वटा टि-२० अन्तर्राष्ट्रिय खेल्यो जसमा नेपालले ११ जित र १५ हार बेहोर्यो। यस्तै उनले ६ एकदिवसीय अन्तर्राष्ट्रियमा नेतृत्व गर्दा ३ खेलमा जित र ३ खेलमा नेपालले हार बेहोर्यो।

पारस नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय र टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रनकर्ता हुन्। उनले एकदिवसीयमा १० खेलमा १ शतक र १ अर्धशतक मद्दतले ३१५ रन तथा टि-२० मा ३३ खेलमा १ शतक र ४ अर्धशतक मद्दतले ७९९ रन बनाएका छन्। दुवै फर्म्याटमा शतक प्रहार गर्ने उनि पहिलो नेपाली खेलाडी समेत हुन्। उनले २०१९ मा युएई बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा तथा सोहि वर्ष सिंगापुर बिरुद्ध टि-२० अन्तर्राष्ट्रियमा शतक बनाएका थिए।

सन् २००४ मा मलेसिया बिरुद्ध आईसीसी इन्टरकन्टिनेन्टल कपमा नेपाली राष्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरेका उनले त्यस अघि नेपाली उमेर समुह टिमको प्रतिनिधित्व गरेका थिए।

https://www.youtube.com/watch?v=8xCX5PmAs28

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy