पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी डानिश अजिजले एभरेष्ट प्रिमियर लिग (ईपीएल) को आउदो सिजन चितवन टाइगर्सबाट खेल्ने भएका छन् । असोज ९ गते देखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने ईपीएलका लागि अजिज चितवनले घोषणा गरेको पहिलो विदेशी खेलाडी हुन् ।
स्टाइलिस युवा देव्रे हाते ब्याट्सम्यानले यसैवर्ष पाकिस्तानबाट क्रमश दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध खेल्दै एकदिवसीय र टि–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । पाकिस्तानको लागि उनले २ वटा टि-२० र समान एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन्।
२५ वर्षे अजिजलाई भारतका अलराउन्डर युवराज सिंह पनि तुलना गरिने गरिन्छ । अजिजको स्ट्रोक प्ले, सन्तुलन र टेक्निक शैली उनका रोल मोडल युवराजको जस्तै रहेको छ । अजिजले युवराजलाई क्रिकेटमा आफ्नो प्रेरणाको रुपमा लिने गरेका छन् । उनले पाकिस्तानको नेसनल टी २० कपमा असाधरण प्रर्दशन देखाएका थिए, विशेष गरी म्याच फिनिसिङमा उनले विशेष इनिङ्स खेलेका थिए । सिन्धबाट त्यो प्रतियोगितामा खेल्दै उनले ९ खेलमा २ सय २० रन बनाएका थिए, जसमा दुई अर्धशतक छन् । उनको औषत ७३.३३ र स्ट्राइक रेट १५४.९२ थियो । आफुलाई अलराउन्डर साबित गर्नेक्रममा उनले १९ को औषतमा ५ विकेट लिएका थिए । उनको इकोनोमी रेट ८.७६ रहेको थियो ।
उनले आफ्नो पावर हिटिङ क्षमता २०२१ को पाकिस्तान सुपर लिग (पीसीएल) मा देखाएका थिए । कराँची किंग्सबाट खेल्दै अजिजले क्वेटा ग्लाडिएटर्सविरुद्ध १३ बलमा ४५ रन बनाएका थिए । उनले सोक्रममा ज्याक वाल्डरमथलाई एकै ओभरमा ३२ रन प्रहार गरेका थिए । त्यसमा ४ छक्का र एक चौका समावेश थियो । १८ ओभरमा १३६–५ को अवस्थामा रहंदा कराँची उनको इनिङ्सपछि २० ओभरमा ६ विकेट गुमाई १ सय ७६ रन बनाएको थियो । सो खेलमा १४ रनको विजय हात पार्दै क“राती किंग्स प्लेअफमा पुगेको थियो ।
नेसनल टी २० कपमा उनले ४७ बलमा ७२ रन बनाएपछि सिन्धले खाइबर पाखुतन्खवामाथी अन्तिम बलमा विजय हात पारेको थियो । सिन्धलाई अन्तिम ३ बलमा १५ र अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा अजिजले इफ्तिखार अहमदको बलमा छक्का प्रहार गरी सनसनीपूर्ण विजय दिलाएका थिए । सिन्ध ३२–४ को अवस्थामा रहेको समयमा क्रिजमा आएका थिए र टोली थप पतन हुनेक्रममा ७ विकेट गुमाई ३४ रनको स्थितिमा पुगेको थियो । १ सय ३९ रनको विजय लक्ष्य लिएर आएको सिन्धबाट अजिजले अनवर अलिसंग ७७ रनको साझेदारी गरेका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त ईपीएल २०२१ को आयोजना मितिलाई नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत गरिसकेको छ र नेपालको सबैभन्दा ठुलो खेलकुद इभेन्ट आयोजनाका लागि तयार छ ।
‘नयाँ सिजनको ईपीएलका लागि डानिसलाई विदेशी खेलाडीको रुपमा भित्राउदा हामी उत्साहित रहेका छौं, पाकिस्तानको भविष्यको ब्याट्सम्यानको रुपमा उनलाई हेरिएको छ । उनको बिग हिटिङ र फिनिसिङ क्षमताले हाम्रो युवा ब्याटिङ लाइनअपलाई नयाँ आयाम दिने छ,” चितवन टाइगर्सकि अप्रेसन्स डाइरटेक्टर विनिता चौधरीले बताईन्।
चितवन टाइगर्स टिममा मार्की खेलाडीको रुपमा सोमपाल कामि रहेका छन् जसलाई चितवनले काठमाडौँ किंग्स-११ बाट गत वर्ष ट्रेड गरेको थियो। टिम मा सोमपाल बाहेक शाहब आलम, दिलिप नाथ, कमल सिंह ऐरी, भिम शार्की, सागर ढकाल, सन्दिप सुनार, इशान पाण्डे, आदील खान, खडक बोहरा जस्ता खेलाडीहरु रहेका छन्।
