अस्ट्रेलियालाई पाँचौ खेलमा ६० रनको विशाल अन्तरले पराजित गर्दै घरेलु टोलि बंगलादेशले पाँच खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज ४-१ ले जितेको छ। बंगलादेशले अस्ट्रेलिया बिरुद्ध इतिहासमै पहिलो पटक कुनै पनि फर्म्याटमा पहिलो सिरिज जित दर्ता गरेको हो।
६० रनको जित बंगलादेशको अस्ट्रेलिया बिरुद्ध सबैभन्दा ठूलो रन अन्तरको जित हो भने बंगलादेशको टि-२० अन्तर्राष्ट्रिय इतिहासकै दोश्रो ठूलो रनअन्तरको जित हो। यस अघि बंगलादेशले २०१२ मा आयरल्याण्डलाई ७१ रनले पराजित गर्नु सबैभन्दा ठूलो जित हो। यस्तै ६० रनको हार अस्ट्रेलियाको टि-२० अन्तर्राष्ट्रिय इतिहासकै पाँचौ ठूलो रन अन्तरको हार हो।
शेरे बांग्ला नेसनल स्टेडियममा बंगलादेशले दिएको १२३ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले १३.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो। १३.४ ओभर मात्रै ब्याटिंग गरेको अस्ट्रेलियाको यो इतिहासकै सबैभन्दा छिटो सकिएको इनिंग्स हो।
टि-२० अन्तर्राष्ट्रिय इतिहासमा अस्ट्रेलियाको यो सबैभन्दा कम टिम योगफल हो। यस अघि इंग्ल्यान्ड बिरुद्ध सन् २००५ मा अस्ट्रेलिया ७९ रनमा अलआउट भएको थियो जुन कीर्तिमान १६ वर्ष पछि टुटेको छ। १०० भन्दा कम योगफलमा अस्ट्रेलिया अलआउट भएको टि-२० अन्तर्राष्ट्रिय इतिहासमा मात्र पाँचौ पटक हो।
लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाको लागि ओपनर तथा कप्तान म्याथु वेडले सर्वाधिक २२ रन तथा बेन म्याकडरमोटले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। ११ औं ओभरमा ५३ रनमा ४ विकेट गुमाएको अवस्थामा रहेको अस्ट्रेलियाले थप ९ रन जोड्दा बाँकी ६ विकेट गुमाउन पुग्यो। ११ औं ओभरमा मोहम्मद सैफुद्दीनले २ विकेट लिए पछि अस्ट्रेलियाले लगातार विकेट गुमाउन पुग्यो। शाकिब अल हसनले १४ औं ओभरमा २ विकेट लिंदै अस्ट्रेलियालाई अलआउट पारे।
बंगलादेशको बलिंगमा शाकिब अल हसनले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ३.४ ओभरमा १ मेडन ओभर गर्दै मात्र ९ रन खर्चिए। शाकिब टि-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै १ हजार रन पुरा गर्ने र १०० विकेट लिने पहिलो खेलाडी बन्न पुगेका छन्। यस्तै मोहम्मद सैफुद्दीनले ३ ( ३-०-१२-३ ) , नसुम एहमदले २ ( २-०-८-२ ) तथा महमदुल्लाहले १ विकेट लिए।
First man to claim 100 wickets and score 1000 runs in T20Is 🔥
Shakib Al Hasan 👏#BANvAUS pic.twitter.com/mRYo4DxfIZ
— ICC (@ICC) August 9, 2021
यस अघि टस जितेर ब्याटिंग गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १२२ रन बनाएको थियो। बंगलादेशको ब्याटिंगमा ओपनर मोहम्मद नैमले सर्वाधिक २३ रन बनाए भने कप्तान महमुदुल्लाहले १९ रन, सौम्य सरकारले १६ रन, मेहदी हसनले १३ रन, शाकिब अल हसनले ११ रन तथा अफिफ होसेनले १० रन योगदान दिए।
एक समय ९६ रनमा ४ विकेट गुमाएको बंगलादेशले थप ६ विकेट गुमाउदा मात्र २६ रनमात्र योगफलमा जोड्न सकेको थियो। उसका ओपनर मेहदी हसन र मोहम्मद नैमले ४२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए।
अस्ट्रेलियाको बलिंगमा नाथन इलिस ( ४-०-१६-२ ) र ड्यानियल क्रिस्चियनले ( ४-०-१७-२ ) समान २ विकेट लिए। यस्तै एस्टन टर्नर , एस्टन एगर र एडम जाम्पाले समान १ विकेट लिए।
सिरिजको पहिलो ३ वटा खेल बंगलादेशले क्रमशः २३ रन, ५ विकेट र १० रनले जितेको थियो भने चौथो खेल अस्ट्रेलियाले ३ विकेटले जितेको थियो।
