The Hundred : रोमान्चक खेलमा लण्डन विजयी

२०७८ श्रावण २७, बुधबार १२:००

रोमान्चक खेलमा म्यानचेस्टर ओरिजिनल्सलाई ६ रनले पराजित गर्दै द हन्ड्रेड लिग अन्तर्गत गयराति सम्पन्न २४ औं खेलमा लण्डन स्पिरिटले पहिलो जित दर्ता गरेको छ। लण्डन यस अघि ४ वटा खेलमा पराजित भएको थियो भने एउटा खेल नतिजाविहिन रहेको थियो।

म्यानचेस्टर स्थित ओल्ड ट्रयाफोर्डमा सम्पन्न खेलमा लण्डनले दिएको १४३ रनको लक्ष्य पछ्याउने क्रम मा म्यानचेस्टरले पुरै १०० बल ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा १३६ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा म्यानचेस्टरलाई जितको लागि ७ बलमा १० रन आवस्यक थियो भने ५ विकेट साथमा थियो। ९५ औं बलमा ३० रन बनाएका ब्राथवेट आउट भए। अन्तिम ५ बलमा जित्न ९ रन आवस्यक हुँदा पहिलो बलमा लकी फर्गुसनले १ रन लिए। लगत्तै बलमा ब्राडले व्हिलले काल्भिन हेरीसनलाई बोल्ड गरे। तेश्रो बलमा नयाँ ब्याट्सम्यान हार्टलेले रन बनाउन सकेनन्। अन्तिम २ बलमा जित्न अब ८ रन आवस्यक रह्यो। तर चौथो बलमा हार्टले रन आउट हुन पुगे भने अन्तिम बलमा फ्रेड क्लासेन हिट विकेट हुँदा लण्डनले रोमान्चक जित दर्ता गर्यो। १३४/५ को अवस्थाबाट म्यानचेस्टरले १० बलको अन्तरमा ४ विकेट गुमाउन पुग्यो भने मात्र २ रन योगफलमा जोड्न सक्यो।

म्यानचेस्टरको लागि कोलिन एंकरम्यानले सर्वाधिक ५३ रन, कप्तान कार्लोस ब्राथवेटले ३० रन तथा टम लमोनबोईले २७ रन योगदान दिए। लण्डनका दायाँ हाते पेसर ब्राडले व्हिलले ४ विकेट लिए जुन क्रममा २० बलमा १५ वटा डट बल गर्दै १७ रन खर्चिए। मोहम्मद नाबीले २ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको लण्डन स्पिरिटले १०० बलमा ६ विकेट गुमाएर १४२ रन बनाएको थियो। उसको लागि ओपनर एडम रोसिंगटनले सर्वाधिक ४६ रन तथा कप्तान ओएन मोर्गनले अविजित २२ रन बनाए। म्यानचेस्टरका बलर टम हार्टले ले ३ तथा म्याथु पार्किन्सनले २ विकेट लिए।

जित पछि पनि लण्डन ६ खेलमा १ जित, ४ हार र १ नतिजाविहिन  खेल पछि ३ अंक सहित अंकतालिकाको पुछारमा रहेको छ। म्यानचेस्टर ६ खेलमा २ जित, २ हार र २ नतिजाविहिन खेलपछि ६ अंक सहित पाँचौ स्थानमा छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy