नेपालले पीएनजीसंग पहिलो पटक डे-नाइट ओडीआई खेल्ने

२०७८ श्रावण ३२, सोमबार १७:३५

आईसीसी विश्व कप लिग-२ अन्तर्गत नेपालले सेप्टेम्बर १३ देखि २० तारिखसम्म ओमानमा खेल्ने आयोजक ओमान र अमेरिकासंगको त्रिकोणात्मक सिरिज अघि नेपालले पपुवा न्यु गिनीसंग ( पीएनजी ) ओमानमा दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने भएको छ।

नेपाल क्रिकेट संघले सोमबार पपुवा न्यु गिनीसंगको सिरिज पक्का भएको घोषणा गर्दै खेलहरु सेप्टेम्बर ५ र ८ तारिखमा खेलिने जानकारी गराएको छ। पहिलो खेल दिनमा खेलिनेछ भने दोश्रो खेल दिवा-रात्रि ( डे-नाइट ) हुनेछ। खेलहरु ओमानको अल अमिरट मैदानमा खेलिनेछ।

नेपाली क्रिकेट टिमले पहिलो पटक दिवा-रात्री एकदिवसीय अन्तर्राष्ट्रियको अनुभव पाउने भएको छ। यस अघि टि-२० अन्तर्राष्ट्रिय अन्डर लाइट खेलेको नेपाली टिमले एकदिवसीय अन्तर्राष्ट्रियमा भने यस्तो अवसर जुरेको थिएन। दिवा रात्री एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेपालको लागि नयाँ अनुभव हुनेछ।

नेपालले अन्तिम पटक एकदिवसीय अन्तर्राष्ट्रिय गत वर्ष फेब्रुअरीमा ओमान र अमेरिकासंग विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा खेलेको थियो। त्यसपछि नेपालले नेदरल्याण्ड र मलेसियासंग अप्रिलमा त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो जसमा नेपाल विजयी भएको थियो।


पपुवा न्यु गिनी अक्टोबर १७ देखि ओमान र युएईमा आयोजना हुने टि-ट्वान्टी विश्वकप खेल्न छनोट भएको टोलि हो। २०१९ टि-२० विश्वकप छनोट प्रतियोगितामा दोश्रो स्थान हाँसिल गर्दै पपुवा न्यु गिनी पहिलो पटक टि-२० विश्वकप खेल्न छनोट भएको थियो। टि-२० विश्वकपको पहिलो चरणमा पपुवा न्यु गिनी आयोजक ओमान, बंगलादेश र स्कटल्याण्डसंग समुह ‘बि’ मा रहेको छ।

विश्वकपको तयारीको क्रममा ओमानमा हुने हुनाले सो अवसरलाई नेपालले उपयोग गर्न लागेको हो। पपुवा न्यु गिनीसंग हालसम्म नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको छैन। २०१८ को एकदिवसीय विश्वकप छनोटमा नेपालले अन्तिम पटक पपुवा न्यु गिनीसंग खेल्दा नेपाल ६ विकेटले विजयी भएको थियो।

ओमान भ्रमणको लागि नेपालले टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा दुई साता देखि अभ्यास गरिरहेको छ। क्यानले १९ सदस्यीय टोलिको घोषणा गरि अभ्यास गरिरहेको छ जस मध्ये १४ जनाको टिम तथा ४ जना वैकल्पिक गरि १८ जना खेलाडी ओमान भ्रमणमा जान सक्ने सम्भावना रहेको छ। कति खेलाडी ओमान जाने बारे क्यानले अधिकारिक रुपमा केहि बताएको छैन।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy