ओमान भ्रमणको लागि नेपाली टिमको घोषणा, गुल्सनले पाए मौका

२०७८ भाद्र ५, शनिबार १२:०२

पपुवा न्यु गिनीसंग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज र लगत्तै ओमान र अमेरिकासंग विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको लागि १७ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा भएको छ।

ओमान भ्रमण अन्तर्गत नेपालले सेप्टेम्बर ५ र ८ तारिखमा पपुवा न्यु गिनीसंग दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ जसमध्ये दोश्रो खेल दिवा-रात्री  ( डे-नाइट ) हुनेछ। नेपालले पहिलो पटक दिवा-रात्री एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो। ओमानसंग र अमेरिकासंग त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० तारिखसम्म खेलिनेछ। प्रतियोगिताको लागि नेपाली टोलि भदौ ८ गते मंगलबार बिहान ८ बजे  ( अगस्ट २४ तारिखमा ) ओमान प्रस्थान गर्ने तालिका रहेको छ।

नेपाल क्रिकेट संघले घोषित गरेको १७ सदस्यीय टोलिमा बन्द प्रशिक्षणमा राखिएको १९ जना मध्ये दुई खेलाडी पेसर कमल सिंह ऐरी र देब्रे हाते स्पिनर शाहब आलमलाई बाहिर राखेको छ।

उदयमान पेसर गुल्सन झाले पनि पहिलो पटक टिममा मौका पाएका छन्। झाले मार्चमा सम्पन्न काठमाडौँ मेयर्स कपमा शशस्त्र प्रहरी बल एपीएफ बिरुद्ध फाइनल खेलमा ३६ रन खर्चेर ४ विकेट लिएका थिए। प्रतियोगितामा उनले मात्र २ खेल खेलेता पनि आफ्नो घातक बाउन्सर र गतिले सबैको मन जितेका थिए।

Gulsan Jha

टिममा लामो अन्तरल पछि दायाँ हाते तिब्र गति बलर बिक्रम सोबले पुनरागमन गरेका छन्। त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गर्ने सोबले यो वर्ष प्रधानमन्त्री कप र काठमाडौँ मेयर्स कपमा गरेको बलिंगबाट प्रशिक्षक डेभ व्हाटमोर प्रभावित भएका थिए।सोब अन्तिम पटक नेपाली टिमसंग २०१६ को विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड भ्रमणमा नेपाली टिममा थिए। तर उनले त्यसबेला अन्तिम-११ मा भने मौका पाएका थिएनन्। सोबले २०१५ नोभेम्बर मा नेपालले युएई भ्रमण गर्दा हंगकंगसंग खेलिएको दुई दिवसीय खेलमा नेपालको लागि डेब्यु गरेका थिए। त्यसै भ्रमणमा ओमन बिरुद्ध एकदिवसीयमा उनले डेब्यु गरेका थिए। त्यसपछि भने उनि राष्ट्रिय टिममा स्थान बनाउन असफल रहँदै आएका थिए।

यस्तै टिममा पहिलो पटक एकदिवसिय टिममा कुशल भुर्तेल, आसिफ शेखले पनि मौका पाएका छन्। दुई खेलाडीले यो वर्ष अप्रिलमा नेदरल्याण्ड बिरुद्ध टि-ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए भने एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका छैनन्। कुशल र आसिफले उक्त सिरिजमा ओपनिंग ब्याटिंग गर्दै थुप्रै कीर्तिमान बनाएका थिए जसले विश्वकप लिग-२ मा पनि ओपनिंगको जिम्मेवारी पाउन सक्ने सम्भावना छ।

घोषित टिम : ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी , करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, अविनाश बोहरा, सुशन भारि, शरद भेसावकर , विक्रम सोब, पवन सर्राफ, रोहित पौडेल, गुलशन झा

विश्वकप लिग-२ अंकतालिकामा नेपाल ४ खेलमा २ जित र २ हार पछि छैठौं स्थानमा रहेको छ। विश्वकप लिग-२ अन्तर्गत नेपालले अझै ३२ वटा खेलहरु खेल्न बाँकी रहेको छ।

विश्वकप लिग-२ अन्तर्गत नेपालले यस अघि पहिलो सिरिज पनि ओमान र अमेरिकासंग घरेलु भूमिमा गत वर्ष फेब्रुअरीमा खेलेको थियो। त्यस पछि कोभिड-१९ का कारण नेपालले खेल्ने विश्वकप लिग -२ अन्तर्गतको सिरिज स्थगित हुँदै आएको थियो। उक्त सिरिजमा नेपालले दुवै खेलमा अमेरिकालाई पराजित गर्दा ओमनासंग भने दुवै खेलमा पराजित भएको थियो।

विश्वकप लिग-२ अंकतालिकाको शिर्ष-३ स्थानमा रहन सके नेपालले सन् भारतमा आयोजना हुने २०२३ एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्न पाउनेछ भने अर्को साइकलको लागि विश्वकप सुपर लिगमा समेत छनोट हुनेछ। विश्वकप लिग-२ को शिर्ष-३ स्थानमा पर्न असफल भए २०२२ विश्वकप छनोट प्ले-अफमा नेपालले विश्वकप छनोट प्रतियोगिता पुग्ने अर्को मौका पाउनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy