आईपीएल २०२१ को दोश्रो फेज १९ सेप्टेम्बर देखि युएईमा सुरु हुँदैछ। लिग सुरु हुनु अघि पन्जाब किंग्सको समस्या बढीरहेको छ।
टिममा विदेशी खेलाडी झाई रिचर्डसन र राइली मेरेडीथ दोश्रो फेजबाट बाहिरिएका छन्। टिमले अस्ट्रेलियन दायाँ हाते फास्ट बलर नाथन इलिसलाई टिममा भित्र्याएको छ। पन्जाबले यो वर्षको अक्सनमा रिचर्डसनलाई १४ करोड भारु र मेरेडीथलाई ८ करोड भारुमा किनेको थियो।
आईपीएल दोश्रो फेजको लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बिसीसीआई ) ले सबै टिमहरुलाई २० अगस्टसम्म आफ्नो टिम दर्ता गर्न निर्देशन दिएको थियो। तर पन्जाब किंग्स सहित केहि अरु फ़्रेन्चाइजले बिसीसीआईसंग टिम दर्ता गर्न दिन थप्न आग्रह गरेको थियो जसमा बिसीसीआई सहमत भैसकेको छ। इलिस पछि अब अर्को विदेशी खेलाडीको खोजिमा पन्जाब रहेको छ।
बंगलादेश बिरुद्ध टि-२० अन्तर्राष्ट्रियमा भर्खरै डेब्यु गरेका इलिसले डेब्युमा ह्याट्रिक लिंदै इतिहास रचेका थिए। उनि अस्ट्रेलियाको टि-२० विश्वकप टिममा रिजर्भ खेलाडीको रुपमा रहेका छन्।
केएल राहुल कप्तानीको टिममा मोईसेस हेनरिक्स क्रिस जोर्डन, क्रिस गेल, निकोलस पुरन, फाबियन एलेन, डेविड मलान जस्ता विदेशी खेलाडीहरु रहेका छन् भने मोहम्मद शामी, मायाँक अग्रवाल जस्ता भारतीय खेलाडी टिममा छन्।
आईपीएल अंकतालिकामा पन्जाब ८ खेलमा ३ जित र ५ हार पछि ६ अंक सहित छैठौं स्थानमा रहेको छ।
