ओमान भ्रमण अन्तर्गत पपुवा न्यु गिनीसंग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज र त्यसपछि ओमान र अमेरिकासंग त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले घरेलु भूमिमा आइतबार अन्तिम दिन अभ्यास गर्दैछ।
टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा नेपाली टोलिले आज दिउसो २ बजे देखि ५ बजे सम्म अभ्यास गर्ने तालिका रहेको छ। ओमान भ्रमणको लागि नेपाली क्रिकेट टिम अगस्ट २४ तारिख ( भदौ ८ गते ) मंगलबार बिहान ८ बजे सलाम एयरबाट ओमान प्रस्थान गर्ने कार्यक्रम रहेको छ। भ्रमणको लागि टिमले औपचारिक रुपमा अगस्ट ६ तारिख देखि अभ्यास सुरु गरेको थियो।
ओमान पुगेपछि नेपाली खेलाडीहरु १ दिन क्वारेन्टाइन बस्नेछन् जुन दौरान उनीहरुको कोभिड-१९ परिक्षण हुनेछ। कोभिड-१९ रिपोर्ट नेगेटिभ आएको खण्डमा खेलाडीहरु अभ्यासमा सामेल हुनेछन्। पपुवा न्यु गिनीसंग सेप्टेम्बर ५ तारिखमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नु अघि टिमले ओमानमा दश दिन अभ्यास गर्न पाउनेछ। लगातार वर्षाको कारण अभ्यास प्रभावित भएका कारण नेपाल क्रिकेट संघले छिटो ओमान पुगेर अभ्यास गर्ने र पपुवा न्यु गिनीसंग अभ्यास खेलको प्रबन्ध गरेको हो।
ओमान भ्रमणको लागि नेपालले १७ सदस्यीय टोलिको शनिवार घोषणा गरिसकेको छ जसमा पहिलो पटक उदयमान फास्ट बलर गुल्सन झाले मौका पाएका छन्। यस्तै आसिफ शेख र कुशल भुर्तेलले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय टिममा मौका पाएका छन्। टिममा लामो अन्तरल पछि बिक्रम सोब तथा पवन सर्राफले पुनरागमन गरेका छन्। भ्रमणको क्रममा कोहि खेलाडीमा कोभिड-१९ देखिएमा बिकल्पको लागि अतिरिक्त २ जना खेलाडी लैजान लागिएको हो।
ओमान भ्रमणको लागि नेपाली टोलि : ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी , करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, अविनाश बोहरा, सुशन भारि, शरद भेसावकर , विक्रम सोब, पवन सर्राफ, रोहित पौडेल, गुल्सन झा
ओमान भ्रमण अन्तर्गत नेपालले सेप्टेम्बर ५ र ८ तारिखमा पपुवा न्यु गिनीसंग दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ जसमध्ये दोश्रो खेल दिवा-रात्री ( डे-नाइट ) हुनेछ। नेपालले पहिलो पटक दिवा-रात्री एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो। ओमानसंग र अमेरिकासंग त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० तारिखसम्म खेलिनेछ जसको खेल तालिका भने हालसम्म सार्वजनिक भएको छैन।
https://www.youtube.com/watch?v=-gbjlbRk6kc
