नोभेम्बर २२ देखि २८ तारिखसम्म मलेसियामा आयोजना हुने महिला टि-२० विश्वकप एसिया छनोट प्रतियोगिताको बन्द प्रशिक्षणको लागि नेपाल क्रिकेट संघ ( क्यान ) ले २४ सदस्यीय प्रारम्भिक नेपाली महिला राष्ट्रिय टोलिको घोषणा गरेको छ।
सन् २०२३ मा दक्षिण अफ्रीकामा आयोजना हुने महिला टि-ट्वान्टी विश्वकपको खुड्किलोको रुपमा रहेको एसिया छनोटमा आयोजक मलेसिया सहित भुटान, चिन, हंगकंग, कुवेत, म्यानमार, युएई र नेपाल गरि कुल ८ टोलि सहभागी हुनेछन्। प्रतियोगिताको विजेता टिम २०२२ मा आयोजना हुने ग्लोबल छनोट खेल्न छनौट हुनेछ। सेप्टेम्बर २३ देखि आयोजना हुने निर्धारित प्रतियोगिता कोभिड-१९ का कारण सरेको सरेको हो।
घोषित २४ सदस्यीय टोलि : रुबिना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, संगीता राई, सरस्वति चौधरी, अनुराधा चौधरी, सुमन खतिवडा, सरस्वति गाहा मगर, कन्चन श्रेष्ठ, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुवर, डली भट्ट, बिन्दु रावल, ममता चौधरी, सिता राना मगर, ज्योती पाण्डे, बिनु बुढामगर, करुणा भण्डारी, सरिता मगर
घोषित टिममा गत वर्ष दाङको लमहीमा आयोजित प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता तथा यो वर्ष काठमाडौँमा आयोजित ललितपुर मेयर्स कपमा राम्रो प्रदर्शन गरेका संगीता राई, कविता जोशी, सुमन खतिवडा, रोमा थापा, बिनु बुढामगर, लक्ष्मी साउद, सरस्वति गाहा मगर, बिन्दु रावल, कन्चन श्रेष्ठ, रेवती धामी जस्ता खेलाडीले स्थान बनाउन सफल भएका छन्। महिला राष्ट्रिय क्रिकेट टिमकि पूर्वकप्तान नेरी थापा भने टिममा स्थान बनाउन असफल रहिन्।
प्रतियोगिताको लागि क्यानले कहिले देखि तयारी गर्ने भने खुलाएको छैन।
नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले अन्तिम पटक अन्तर्राष्ट्रिय प्रतियोगिता सन् २०१९ मा नेपालको पोखरामा आयोजित दक्षिण एसियाली खेलकुद ( साग ) महिला क्रिकेटमा सहभागिता जनाएको थियो जसमा नेपालले तेश्रो स्थान हाँसिल गरेको थियो।
