पूर्व राष्ट्रिय क्रिकेटर मनोज कटवाल, राष्ट्रिय तथा क्रिकेटर ललित राजबंशी तथा नेपाल पुलिस क्लब क्रिकेट टिमका सदस्य विजय कुमार धिताल सिन्धुपाल्चोकमा सम्मानित भएका छन्।
पाँच पोखरी थाङ्ग्पाल गाउँपालिका खेलकुद बिकास समितिले सोमबार आयोजना गरेको क्रिकेट अभिमुखीकरण तथा क्रिकेट खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा तिनजना सम्मानित भएका हुन्। कार्यक्रममा प्रमुख अतिथि पाँच पोखरी थाङ्ग्पाल गाउपालिकाकि उपाध्यक्ष सुनिता अधिकारी, विशेष अतिथि गाउँपालिकाका प्रशाशकिय अधिकृत दिनेश कुमार पोखरेलले उनीहरुलाई सम्मान गरेका थिए।
कटवाल र राजबंशीलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नेपाली क्रिकेटमा पुर्याएको योगदानको लागि तथा धिताललाई विशेषगरि सिन्धुपाल्चोक जिल्ला र थाङ्ग्पाल गाउपालिकामा क्रिकेट विकासको लागि गरेको योगदानको कदर गर्दै सम्मानित गरिएको हो। सम्मानस्वरूप पाएको नगद पुरस्कार प्रशिक्षक कटवाल सहित तिनजनालेनै स्थानीय गाउँपालिकाकै स्कुललाई खेलकुद विकाशको लागि हस्तान्तरण गरे।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुनिता अधिकारीले जिल्ला र गाउँपालिकाको क्रिकेट विकासमा धितालले पुर्याएको योगदानको तारिफ गर्दै यसलाई निरन्तरता दिन समेत आग्रह गरेका थिए। यस्तै प्रशाशकिय अधिकृत पोखरेलले नेपालबाट खेलेर लामो समय देखि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा समेत देशको लागि विशेष योगदान गरेकोमा तिनै जनालाई धन्यवाद दिंदै गाउँपालिकाले क्रिकेटलाई सधै प्राथमिकतामा राखेको र आगामी दिनमा पनि निरन्तर क्रिकेट खेलको विकासमा सहयोग गर्ने बताए।
पाँच पोखरी थाङ्ग्पाल गाउँपालिकाको सक्रियतामा विगत ३ वर्ष देखि लगातार जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुँदै आएको छ। उक्त प्रतियोगिता यो वर्ष भने कोरोना महामारीका कारण संचालन हुन नसकेको हुनाले उक्त प्रतियोगिताको लागि गाउँपालिका द्वारा विनियोजन गरिएको रकमले खेलकुद विकास समितिका सदस्य समेत रहेका विजय कुमार धितालको सल्लाह वमोजिम गाउँपालिकाको ८ वटा वडामा क्रिकेट विकासको लागि क्रिकेट सामग्री वितरण गर्ने तथा पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर कटवाल, राष्ट्रिय क्रिकेटर ललित राजबंशीलाई नगद सहित सम्मान गर्ने निर्णय गरिएको थियो।
कार्यक्रममा पूर्व राष्ट्रिय क्रिकेटर कटवाल र राष्ट्रिय क्रिकेटर राजबंशीले आफ्नो खेल जीवनको अनुभव सुनाएका थिए।


