ईपीएलमा अनुबन्धित हुने पहिलो मलेसियन खेलाडी बने भिरनदिप, जसको नाममा छ यस्तो विश्वकीर्तिमान

२०७८ भाद्र १०, बिहीबार १३:०७

भिरनदिप सिंह नेपाली टि-ट्वान्टी लिग एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) खेल्ने पहिलो मलेसियन खेलाडी बन्ने भएका छन्।

सोमपाल कामि कप्तानीको ईपीएल टिम चितवन टाइगर्सले टिमको तेश्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो। यस अघि चितवनले अफगानिस्तानका मोहम्मद शाहजाद र पाकिस्तानका डानिश अजिजलाईलाई अनुबन्ध गरिसकेको छ। ईपीएलमा सहभागी टोलिले अन्तिम-एघारमा अनिवार्य तिन जना विदेशी खेलाडी समाबेश गर्नुपर्ने नियम रहेको छ।

मलेसियन क्रिकेट एसोसिएसनले भिरनदिप ईपीएल खेल्ने घोषणा गर्दै बधाई समेत दिएको छ। २२ वर्षीय खेलाडी व्यवसायिक विदेशी लिग खेल्ने मलेसियाको पहिलो क्रिकेटर बन्ने भएपछि एसोसिएसनले उनलाई बधाई दिंदै आगामी दिनमा अन्य खेलाडीले समेत यस्तो उचाई हाँसिल गर्ने विश्वास व्यक्त गरेको छ।


भिरनदिप टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सबै भन्दा कान्छो कप्तान समेत हुन्। उनले सेप्टेम्बर २०१९ मा भानुआटु बिरुद्ध मलेसियाको कप्तानी सम्हालेका थिए जति बेला उनको उमेर २० वर्ष १९० दिन रहेको थियो। २०१९ मा थाईल्याण्ड बिरुद्ध टि-ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका भिरनदिपले त्यसको एक वर्ष अघि मलेसियामा आयोजित विश्व क्रिकेट लिग डिभिजन-४ मा डेब्यु गरेका थिए। त्यस अघि उनले मलेसियन अन्डर-१९ टिमको कप्तानी समेत गरेका थिए।

दायाँ हाते ब्याट्सम्यान तथा देब्रे हाते स्पिनर भिरनदिपले मलेसियाको लागि २५ टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलीसकेका छन् जुन क्रममा २८.५ को औशत र ११२.३१ को स्ट्राइक रिताले ३ अर्धशतक मद्दतले ६८४ रन बनाएका छन्। उनि सयद अजिज ( ७०५ रन ) पछि मलेसियाको लागि टि-ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक रनकर्ता हुन्। यस्तै उनले बनाएको ८७ रन मलेसियाको लागि टि-ट्वान्टी अन्तर्राष्ट्रियमा संयुक्त रुपमा सर्वाधिक व्यक्तिगत स्कोर हो। भिरनदिपले यो वर्ष अप्रिलमा नेपालमा आयोजित त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड बिरुद्ध उक्त रन बनाएका थिए।

सुनसरीको इनरुवामा गत वर्ष जनवरीमा आयोजित एमएम कप एकदिवसीय प्रतियोगितामा भिरनदिपले मलेसियन राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका थिए

नेपालमा आयोजित त्रिकोणात्मक टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा भिरनदिप मलेसियाबाट सर्वाधिक रनकर्ता तथा प्रतियोगिताकै सातौँ सर्वाधिक रन कर्ता रहेका थिए। प्रतियोगितामा उनले ४ खेलमा ३० को औशत र १३६.३६ को स्ट्राइक रेटमा १ अर्ध शतक मद्दतले १२० रन बनएका थिए। यस क्रममा उनले नेदरल्याण्ड बिरुद्ध ८७ रन बनाएका थिए जुन क्रममा उनले मात्र ५३ बलमा ६ चौका र ६ छक्का प्रहार गरेका थिए। नेदरल्याण्डले दिएको १९२ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले १७६ रन बनाएपछि खेलमा १५ रनले मलेसिया पराजित हुन पुगेको थियो।

नेपाल बिरुद्ध खेलेको ६ वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियमा भिरनदिपले २०.५० को औशतले १२३ रन बनाएका छन्। उनले २०१९ मा नेपालले मलेसिया भ्रमण गर्दा पहिलो खेलमा ओपनिंग ब्याटिंग गर्दै ४९ बलमा ५७ रन बनाएका थिए। गत वर्ष जनवरीमा मलेसियाको राष्ट्रिय क्रिकेट टिमले सुनसरीको इनरुवामा आयोजित मनमोहन मेमोरियल एकदिवसीय प्रतियोगिता खेल्न नेपाल भ्रमण गर्दा भिरनदिपले २ खेलमा ७२ रन बनाएका थिए। त्यसक्रममा उनले गण्डकी प्रदेश टिम बिरुद्ध ५० रन बनाएका थिए। 

चितवन टाइगर्स टिममा मार्की खेलाडी तथा कप्तानको रुपमा सोमपाल कामि रहेका छन्। सोमपाललाई चितवनले काठमाडौँ किंग्स-११ बाट गत वर्ष ट्रेड गरेको थियो। टिममा अन्य नेपाली खेलाडीहरुमा शाहब आलम, दिलिप नाथ, कमल सिंह ऐरी, भिम शार्की, सागर ढकाल, सन्दिप सुनार, इशान पाण्डे, आदील खान, खडक बोहरा जस्ता खेलाडीहरु रहेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy