इंग्ल्यान्डद्वारा भारत इनिंग्स अन्तरले पराजित, कप्तान रुटको ठूलो कीर्तिमान

२०७८ भाद्र १२, शनिबार १८:१२

भ्रमण टोलि भारतलाई इनिंग्स र ७६ रनले पराजित गर्दै इंग्ल्यान्डले पाँच टेस्टको सिरिज दुई टेस्ट बाँकी रहंदा इंग्ल्यान्डले १-१ को बराबरी गरेको छ।

हेडिंगलेमा सम्पन्न खेलमा पहिलो इनिंग्समा ३५४ रनले पछि परेको भारतले दोश्रो इनिंग्समा २७८ रन मात्र बनाउन सकेपछि चौथो दिन बिहानी सत्रमा टेस्टको नतिजा आएको हो। बिराट कोहलीको कप्तानीमा भारतले इनिंग्स अन्तरले टेस्ट हारेको यो दोश्रो पटक हो। यस अघि इंग्ल्यान्डसंगनै २०१८ मा लर्ड्स टेस्टमा भारत इनिंग्स र १५९ रनले पराजित भएको थियो। यस्तै कोहलीले टस जिते पछि भारत पराजित भएको यो मात्र दोश्रो टेस्ट हो।

तेश्रो दिन समाप्तिमा क्रिजमा ९१ रनमा अविजित रहेका पुजारालाई सोहि स्कोरमा ओली रोबिन्सनले एलबिडब्लु गर्दै दिनको सुरुवात गरे। त्यसपछि अर्धशतक पुरा गरे लगत्तै कप्तान कोहली पनि ५५ रन बनाएर रोबिन्सनबाट क्याच आउट हुन पुगे। त्यसपछि अजिंके रहाने १० रन बनाएर एण्डरसनबाट तथा रिशभ पन्त १ रन बनाएर रोविन्सनबाट क्याच आउट हुन पुगे। रभिन्द्र जडेजाले ३० रन बनाएता पनि तल्लो क्रममा अन्य भारतीय ब्याट्सम्यान क्रिजमा जम्न सकेनन्। फलस्वरुप चौथो दिन योफलमा थप ६३ रन बनाउदा भारतले बाँकी ८ विकेट गुमाउन पुग्यो।


इंग्ल्यान्डको बलिंगमा  ओली रोबिन्सनले सर्वाधिक ५ विकेट लिए जुन क्रममा २६ ओभरमा ६ मेडन ओभर गर्दै ६५ रन खर्चिए। क्रेग ओभरटनले ३ तथा जेम्स एण्डरसन र मोईन अलिले समान १ विकेट लिए।

टेस्टमा टस जितेर ब्याटिंग रोजेको भारतले पहिलो इनिंग्समा भारतले ७८ रन मात्र बनाउन सकेको थियो भने इंग्ल्यान्डले पहिलो इनिंग्समा जो रुटको शतक मद्दतले ४३२ रन बनाएको थियो। खेलको प्लेयर अफ द म्याच ओली रोबिन्सन चुनिए। सिरिजको चौथों खेल सेप्टेम्बर २ तारिखमा लन्डनको केनिंगटन ओभलमा खेलिनेछ। सिरिज अन्तर्गत पहिलो टेस्ट बर्षाले प्रभावित हुँदा बराबरीमा टुंगिएको थियो भने दोश्रो टेस्टमा भारत १५१ रनले विजयी भएको थियो।

रुटको कीर्तिमान : इंग्ल्यान्डको कप्तानको रुपमा २७ औं जित दर्ता गर्दै जो रुट इंग्ल्यान्ड टेस्ट क्रिकेट इतिहासकै सर्वाधिक जित दिलाउने कप्तान बनेका छन्। ५५ खेलमा रुटले उक्त कीर्तिमान आफ्नो नाम गरेका हुन् जुन क्रममा माइकल भनको २६ जितको रेकर्ड तोडेका हुन्। इंग्ल्यान्डको लागि एन्ड्रयु स्ट्रस र एलेस्टर कुकले समान २४ तथा पिटर मेले २० जित दिलाएका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy