चिन्नुस् को हुन् ईपीएलमा आवद्ध भुटानी क्रिकेटर दोर्जी

२०७८ भाद्र १६, बुधबार १२:१७

एभरेस्ट प्रिमियर लिगको ( ईपीएल ) डिफेन्डिङ च्याम्पियन टिम ललितपुर पेट्रिएट्सले टिमको दोश्रो विदेशी खेलाडीको रुपमा भुटानका राष्ट्रिय क्रिकेटर रनजंग मिक्यो दोर्जीलाई अनुबन्ध गरेको छ। टिमले पहिलो विदेशी खेलाडीको रुपमा इंग्ल्यान्डका काउन्टी क्रिकेटर एलेक्स ब्लेकलाई अनुबन्ध गरेको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को टि-ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा ६९ औं स्थानमा रहेको तथा अन्तर्राष्ट्रिय क्रिकेटमा बामे सर्दै गरेको मुलुकका खेलाडी ईपीएल टिममा अनुबन्ध हुँदा धेरै आश्चर्यमा परेका छन्। टेस्ट राष्ट्र पाकिस्तानका विश्वचर्चित क्रिकेटर शाहिद अफ्रिदी लगायत थुप्रै चर्चित अनुहारहरु ईपीएलमा देखिंदा भुटानका दोर्जी पनि विदेशी खेलाडीको रुपमा एकै मैदानमा देखिनेछन्।

“डिफेन्डिङ च्याम्पियन ललितपुर पेट्रिएट्सबाट खेल्न निकै उत्साहित छु। यो अवसर प्रदान गर्नु भएकोमा म धन्यवाद दिन चाहन्छु। नेपाली दर्शकहरुको अगाडी फेरी खेल्न पाउनु मेरो लागि खुसिको कुरा हो।” रनजंग मिक्यो दोर्जीले लिग खेल्ने पक्का भएपछि प्रतिक्रिया दिएका छन्।

३ वर्ष अघि डेब्यु :  २२ वर्षीय दोर्जीले भुटानको लागि ३ वर्ष अघि २०१८ अक्टोबरमा मलेसियामा सम्पन्न आईसीसी टि-ट्वान्टी विश्वकप छनोट ( एसिया बि ) मा भुटानको लागि डेब्यु गरेका थिए। उनले भुटानको लागि ९ खेलमा प्रतिनिधित्व गरेका छन् जुन क्रममा १०.१२ को औशतले ८१ रन बनाएका छन् भने उनको सर्वाधिक स्कोर २७ रन हो। तथ्यांक हेर्दा दोर्जीको अन्तर्राष्ट्रिय क्रिकेटमा प्रदर्शन कमजोर देखिन्छ तर उनको एउटा विशेष क्षमताका कारण अन्तर्राष्ट्रिय लिगमा अनुबन्धित हुने पहिलो भुटानी क्रिकेटर बन्न सफल भएका छन्।

२०१९ साग क्रिकेटमा नेपाल बिरुद्ध ब्याटिंग गर्दै दोर्जी

२ वर्ष अघि डिसेम्बर २०१९ मा नेपालमा आयोजित दक्षिण एसियाली खेलकुद ( साग ) को पुरुष क्रिकेट प्रतियोगिताको क्रममा दोर्जीले टिमको प्रदर्शन कमजोर रहेता पनि व्यक्तिगत छाप छोड्न सफल भएका थिए। श्रीलंका र नेपाल बिरुद्धको खेलमा अन्य ब्याट्सम्यानहरु फ्लप हुँदा दोर्जीले आक्रामक ब्याटिंग गर्दै फरक प्रभाव छाडेका थिए।

नेपाल बिरुद्ध त्यो ४ छक्का : उनले नेपाल बिरुद्ध टि-ट्वान्टी अन्तर्राष्ट्रिय डेब्युमा २३ बलमा ४ छक्का प्रहार गर्दै २७ रन बनाएका थिए जुन खेलमा भुटानी ब्याट्सम्यानको सर्वाधिक स्कोर थियो। नेपालले दिएको २३७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा अन्य ब्याट्सम्यानहरु निरिह सावित हुँदा पाँचौ नम्बरमा ब्याटिंग गर्न आएका दोर्जीले आक्रामक ब्याटिंग गरेका थिए। त्यस क्रममा उनले देब्रे हाते स्पिनर ललित राजबंशीको एकै ओभरमा २ वटा छक्का तथा अफस्पिनर पवन सर्राफ र देब्रे हाते स्पिनर सुशन भारिलाई एक/एक छक्का हिर्काएका थिए। उनले आफ्नो परिचय भने अघिल्लो खेलमै दिईसकेका थिए। श्रीलंका यु-२३ टिम बिरुद्धको खेलमा पनि उनले १५ बलमा ३ छक्का मद्दतले २२ रन बनाउदै टिमको लागि सर्वाधिक योगदान दिएका थिए। त्यस क्रममा उनले देब्रे हाते स्पिनर दुभिन्दु तिलकरत्नेलाई तिन वटै छक्का प्रहार गरेका थिए।

सागमा सोहि प्रदर्शनको बलमा ललितपुरले उनलाई टिममा भित्र्याएको हो। दोर्जी जुन सुकै क्रममा ब्याटिंगमा आएर आक्रामक सटहरु खेल्दै खेलको दिशा परिवर्तन गर्ने क्षमता राख्छन्। त्यति मात्रै हैन उनि फिल्डिंगमा समेत अब्बल रहेका छन्।

भुटान क्रिकेटमा चर्चित अनुहार दोर्जीले यो वर्ष मे-जुनमा आयोजित भुटान टि-२० स्म्यास प्रतियोगितामा ३ खेलमा १४४.०७ को स्ट्राइक रेटले ८५ रन बनाउनुको साथै ७ विकेट समेत लिएका थिए। त्यस क्रममा एक खेलमा उनले २९ बलमा ४ चौका र ४ छक्का मद्दतले ४९ रन बनाएका थिए।

दोर्जीले भारतको सेन्ट जोसेफ स्कुल दार्जलिङमा २ कक्षा देखि अध्ययन गरेका थिए

भारतको स्कुलिंगमा सिके क्रिकेट : दोर्जीले भारतको दार्जीलिङमा प्रारम्भिक शिक्षा लिने क्रममा क्रिकेट सिक्ने अवसर पाएका थिए। स्कुल स्तरमै उनले आफ्नो प्रदर्शनले छाप छोड्न सफल भएका थिए। सेन्ट जोसेफ स्कुल दार्जलिङमा उनले २००८ मा कक्षा २ देखि पढ्न सुरु गरेका थिए र त्यहाँ एक दशक अध्ययन  गरेका थिए। त्यस क्रममा दोर्जीले स्कुल इतिहाँसमै विशेष क्षमताको लागि प्रदान गरिने सेतो कोट समेत जितेका थिए। तिन वटा क्षेत्रमा गोल्ड मेडल जिते बापत सेतो कोट दिईने गरिन्छ। उनि क्रिकेट, बास्केटबल, भलिबल तथा एथलेटिक्समा सुरुवात देखि अब्बल थिए।

हाल दोर्जी भारतको नयाँदिल्लीमा सेन्ट स्टेफेन्स कलेजमा आर्टमा ब्याचलर अध्यन गरिरहेका छन्। उनि हाल भुटानबाटै अनलाइन कक्षा लिईरहेका छन्। ईपीएलमा सहभागी हुनको लागि उनले कलेज व्यवस्थापनसंग विदा माग्नेछन्।

साग क्रिकेटको दौरान दोर्जीले बिभिन्न नेपाली क्रिकेटर संग तस्विर लिएका थिए 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy