सफल र बिबेक चम्किंदा ओमेगा विजयी

२०७८ भाद्र १७, बिहीबार २१:५३

पाँचौ खेलमा स्थानीय टिम माछापुच्छ्रे क्रिकेट एकेडेमीलाई रोमान्चक खेलमा १ रनले पराजित गर्दै पोखरा भ्रमणमा रहेको काठमाडौँको ओमेगा कलेजले सिरिजमा पहिलो जित दर्ता गरेको छ।

ईडन हेभेन्स मैदानमा सम्पन्न खेलमा ओमेगाले दिएको १२१ रनको लक्ष्य पछ्याउने क्रममा माछापुच्छ्रेले २५.१ ओभरमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। माछापुच्छ्रेको लागि दिपेश खत्रीले सर्वाधिक २८ रन, ऋतिक थापा मगरले २४ रन तथा सोहिल कुँवरले १५ रन बनाएता पनि जितको लागि पर्याप्त रहेन।

प्लेयर अफ द म्याच समेत चुनिएका ओमेगाका बलर सफल केसीले सर्वाधिक ४ विकेट लिंदै जितमा अहम योगदान दिए। यस्तै सुकेश कुमार यादवले २ विकेट लिए।

ओमेगा कलेज टिम

यस अघि टस जितेर ब्याटिंग रोजेको ओमेगाले २५.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १२० रन बनाएको थियो। उसको लागि बिबेक बुढाथोकीले सर्वाधिक ६६ रन तथा कप्तान अंकित प्रताप सिंहले २८ रन बनाए। माछापुच्छ्रेका बलर बिनोद नेपालीले ५ तथा कबिन सापकोटाले २ विकेट लिएका थिए।

यसका साथै ओमेगाको पोखरा भ्रमण सकिएको छ। पाँच खेलको सिरिज माछापुच्छ्रेले ३-१ ले जित्न सफल भयो। सिरिज अन्तर्गत पहिलो खेल वर्षाले प्रभावित हुँदा रद्द भएको थियो भने त्यसपछि माछापुच्छ्रेले दोश्रो, तेश्रो र पाँचौ खेल क्रमशः ७ रन, ५१ रन र ३५ रनले जितेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy