एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) अन्तर्गत शरद भेसावकर कप्तानीको टिम भैरहवा ग्ल्याडीएटर्सले दुई श्रीलंकन राष्ट्रिय क्रिकेटरलाई विदेशी खेलाडीको रुपमा टिममा अनुबन्ध गरेको छ।
ग्ल्याडीएटर्सले अनुभवी श्रीलंकन क्रिकेटर उपुल थारांगा र धम्मिका प्रशादलाई अनुबन्ध गरेको हो। यस अघि ग्ल्याडीएटर्सले दिनेश चण्डीमाललाई अनुबन्ध गरेता पनि श्रीलंकन टिममा पुनरागमन गरेपछि लिग खेल्न नपाउने भएका थिए।
श्रीलंकाको लागि २००५ देखि २०१९ सम्म ३१ टेस्ट, २३५ एकदिवसीय र २६ टि-२० खेलेका थाराँगाले यसै वर्ष फेब्रुअरीमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए। ३६ वर्षीय देब्रे हाते ब्याट्सम्यानले टेस्टमा ३ शतक मद्दतले १,७५४ रन, एकदिवसीयमा १५ शतक मद्दतले ६,९५१ रन तथा टि-२० मा ४०७ रन बनाएका छन्। उनि एकदिवसीयमा श्रीलंकाको आठौँ सर्वाधिक रनकर्ता हुन् भने पाँचौ सर्वाधिक शतक बनाउने ब्याट्सम्यान समेत हुन्।
यस्तै २०१५ मा अन्तिम पटक श्रीलंकाको लागि खेलेका दायाँ हाते फास्ट बलर धम्मिका प्रसादले देशको लागि २५ टेस्ट, २४ एकदिवसीय र १ टि-२० मा प्रतिनिधित्व गरेका थिए। त्यस क्रममा उनले टेस्टमा ७५ र एकदिवसीयमा ३२ विकेट लिए। २००६ मा डेब्यु गरेका उनले यसै वर्ष फेब्रुअरीमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए।

भैरहवामा अनुबन्धित भएपछि थारांगा र प्रसादले लिग खेल्न उत्साहित रहेको प्रतिक्रिया दिंदै टिमलाई समर्थन गर्न अनुरोध गरेका छन्।
ग्ल्याडीएटर्समा कप्तान शरद बाहेक नेपाली खेलाडीहरुमा आरिफ शेख, प्रदिप ऐरी, भुवन कार्की, दिपेश श्रेष्ठ, रोहित पौडेल, अविनाश बोहरा, कुशल मल्ल, कृष्ण कार्की, हरिशंकर शाह, हिमांशु दत्ता, अनिल खरेल, दुर्गेश थापा र बिकाश आग्री रहेका छन्। टिमको प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमको पूर्व प्रशिक्षक पुबुदु दासानायके रहेका छन्।
भैरहवा ईपीएल को अघिल्लो दुई संस्करण २०१७ र २०१८ को उपविजेता टिम हो जो २०१७ फाइनलमा बिराटनगर वारियर्ससंग तथा २०१८ मा ललितपुर पेट्रिएट्ससंग पराजित हुँदै उपाधि जित्न चुकेको थियो।
ईपीएलमा हालसम्म टेस्ट राष्ट्र खेलीसकेका ८ जना खेलाडीहरु बिभिन्न टिमहरुमा अनुबन्धित भैसकेका छन्। काठमाडौँ किंग्स एघारले पाकिस्तानी स्टार खेलाडी शाहिद अफ्रिदी, भैरहवा ग्ल्याडीएटर्सले उपुल थारांगा र धम्मिका प्रशाद , चितवन टाइगर्सले अफगानीस्तानका मोहम्मद शाहजाद, पाकिस्तानका डानिश अजिज र श्रीलंकाका सेक्कुगे प्रशन्नालाई तथा बिराटनगर वारियर्सले जिम्बाब्वेका सिकन्दर रजालाई अनुबन्ध गरिसकेको छ।
