CPL : सिमोन्स चम्किंदा ट्रिनबागोको जित

२०७८ भाद्र २१, सोमबार ११:२६

करेबियन प्रिमियर लिग अन्तर्गत गय राति सम्पन्न खेलमा ट्रिनबागो नाइट राइडर्स र सेन्ट लुसिया किंग्सले जित दर्ता गरेका छन्।

दिनको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन ट्रिनबागो नाइट राइडर्सले जमैका तलावाजलाई ७ विकेटले पराजित गर्यो। जमैकाले दिएको १४५ रनको लक्ष्य ट्रिनबागोले १७.१ ओभरमा मात्र ३ विकेट क्षेतीमा पुरा गर्यो।

ट्रिनबागोको लागि ओपनर लेन्डल सिमोन्सले सर्वाधिक ७० रन बनाए जुन क्रममा ४५ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। यस्तै कोलिन मुनरोले ३४ तथा डेरेन ब्राभोले अविजित १४ रन बनाए। सिमोन्स र मुनरोले दोश्रो विकेटको लागि १०२ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए।


यस अघि टस हारेर ब्याटिंग गरेको जमैकाले २० ओभरमा ७ विकेट क्षेतीमा १४४ रन बनाएको थियो। एक समय १५ रनमै ५ विकेट गुमाएको जमैकाको लागि कार्लोस ब्राथवेट र इमाद वासिमले छैठौं विकेटको लागि ८३ रनको साझेदारी गर्दै उकासेका थिए। ब्राथवेट र आन्द्रे रसेल बीच पनि ४० रनको साझेदारी भयो। ब्राथवेटले ४० बलमा ७ चौका र २ छक्का मद्दतले ५८ रन, वासिमले ३८ बलमा ३ चौका र २ छक्का मद्दतले ४२ रन तथा रसेलले ८ बलमा १ चौका र २ छक्का मद्दतले अविजित २० रन बनाए। ट्रिनबोका बलर अकेल होसेन र रभी रामपौलले समान २ विकेट तथा सुनिल नारायण र इसुरु उडानाले समान १ विकेट लिए।

दिनको पहिलो खेलमा सेन्ट लुसिया किंग्सले सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सलाई ६ विकेटले पराजित गर्यो। पेट्रिएट्सले दिएको ११९ रनको लक्ष्य किंग्सले १५.४ ओभरमा भेटायो। रोस्टन चेजले ३८ बलमा ५१ रन बनाउदै जितमा अहम योगदान दिए। यस अघि टस जितेर ब्याटिंग गरेको पेट्रिएट्स १९.३ ओभरमा ११८ रनमा समेटिन पुगेको थियो। उसको लागि फाबीयन एलेनले ३४ तथा डेभोन थोमसले २८ रन बनाए। किंग्सका बलर जेभर रोयलले ३ तथा समित पटेल र केस्रिक विलीयम्सले समान २ विकेट लिए।

लिग अंक तालिकामा सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स ७ खेलमा ५ जित र २ हार पछि १० अंक सहित शिर्षस्थानमा रहेको छ। सेन्ट लुसिया ८ अंक सहित दोश्रो स्थानमा छ। ट्रिनबागो र गायना समान ६ अंक सहित तेश्रो र चौथों स्थानमा छ। ४ अंक सहित जमैका पाँचौ र बार्बेडोस २ अंक सहित छैठौं स्थानमा रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy