निसर्ग पटेलको घातक बलिंग, अमेरिकाद्वारा पीएनजी १५६ रनमा सिमित

२०७८ भाद्र २१, सोमबार १४:४४

देब्रे हाते स्पिनर निसर्ग पटेलले उत्कृस्ट प्रदर्शन गर्दा अमेरिकाले पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा पपुवा न्यु गिनीलाई १५६ रनमा सिमित पारेको छ। विश्वकप लिग-२ अन्तर्गत ओमान र नेपालसंग त्रिकोणात्मक सिरिज खेल्नु अघि अमेरिकाले पपुवा न्यु गिनीसंग दुई वटा एकदिवसीय खेल्दैछ।

अल अमिरात क्रिकेट मैदान ( टर्फ २ ) मा टस जितेर ब्याटिंग रोजेको पपुवा न्यु गिनीले ४४.२ ओभरमा सबै विकेट गुमाएर १५६ रन बनाएको हो।

पपुवा न्यु गिनीको सुरुवात खराब रह्यो। ओपनर टोनी उरा र लेगा सीएका ५ र ७ रन तथा चार्ल्स अमिनी ४ रन बनाएर आउट भए। चौथों विकेटको लागि कप्तान असद भालाले सिसि बाउसंग ५४ रनको साझेदारी गरे।

देब्रे हाते स्पिनर निसर्ग पटेलले लगातार ४ विकेट लिंदै पुनः अमेरिकालाई खेलमा हावी गराए। असद भाला ७४ बलमा ६ चौका र १ छक्का मद्दतले ६० रन बनाएर पटेलबाट एलबिडब्लु भए भने ३० रन बनाएका सिसि बाउलाई पटेलले क्याच आउट गराए। फलस्वरुप ९७/३ को अवस्थाबाट पपुवा न्यु गिनी १२६/७ को अवस्थामा पुग्यो। त्यसपछि गौडी टोकाले १८ तथा जेसन किलाले १० रन बनाए पनि अन्य ब्याट्सम्यानहरु क्रिजमा जम्न सकेनन्।

अमेरिकाको बलिंगमा निसर्ग पटेलले १० ओभरमा १ मेडन ओभर गर्दै २९ रन खर्चेर ४ विकेट लिए। पटेलको यो एकदिवसीय अन्तर्राष्ट्रिय करियरकै उत्कृस्ट बलिंग स्पेल हो।  यस्तै नोस्थुश केंजिगेले ३ ( ६.२-१-२२-३ ) तथा कप्तान सौरभ नेत्रभाल्करले २ ( ७-०-२३-२ ) तथा एल्मोर हच्किन्सनले १ विकेट ( ६-०-१२-१ ) लिए।

विश्वकप लिग -२ अन्तर्गत अमेरिका र ओमानसंग त्रिकोणात्मक सिरिज खेल्नु अघि नेपालले पपुवा न्यु गिनीसंग भोलि ( सेप्टेम्बर ७ ) पहिलो तथा सेप्टेम्बर १० तारिखमा दोश्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy