सन्दिप चुनिए प्लेयर अफ द म्याच, यस्तो थियो प्रदर्शन

२०७८ भाद्र २२, मंगलवार १७:३६

ओमान भ्रमण अन्तर्गत पपुवा न्यु गिनी बिरुद्ध दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रियको सिरिजको पहिलो खेलमा २ विकेटको कठिन जित हात पार्दा सन्दिप लामिछाने प्लेयर अफ द म्याच चुनिएका छन्।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दिप दोश्रो पटक प्लेयर अफ द म्याच चुनिएका हुन्। उनि पहिलो र अन्तिम पटक गत वर्ष फेब्रुअरीमा नेपालमा सम्पन्न त्रिकोणात्मक एकदिवसिय सिरिजमा अमेरिका बिरुद्ध ६ विकेट लिंदा ( ६-१-१६-६ ) प्लेयर अफ द म्याच चुनिएका थिए।

खेलमा टस जितेर ब्याटिंग गरेको पपुवा न्यु गिनीलाई १३४ रनमा सिमित पार्न सन्दिपले नेपालको लागि सर्वाधिक ४ विकेट लिए।

बिक्रम सोबले पपुवा न्यु गिनीको सुरुवाती २ विकेट लिएपछि तेश्रो विकेटको लागि चार्ल्स अमिनी र लेगा सियाकाले अर्धशतकीय साझेदारी गर्दै पपुवा न्यु गिनीलाई दबाब मुक्त बनाएका थिए। तर इनिंग्सको १२ औं ओभरमा पहिलो ओभर बलिंग गरेका सन्दिपले उक्त ओभरमै २३ रन बनाएका चार्ल्स अमिनीलाई विकेटकिपर आसिफ शेखबाट क्याच थमाउदै नेपाललाई खेलमा फर्काएका थिए। त्यसपछि पनि नरोकिएका सन्दिपले १४ रन बनाएर क्रिजमा जमेका सिसि बाउको विकेट लिए। खेलमा ४ विकेट लिएका सन्दिपले १० ओभरमा ३५ रन मात्र खर्चिए। पपुवा न्यु गिनी बिरुद्ध २०१८ मा विश्वकप छनौटमा खेलिएको पछिल्लो खेलमा पनि सन्दिपले ४ विकेट लिंदै जितमा अहम योगदान दिएका थिए।

सन् २०१८ को एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले पपुवा न्यु गिनीलाइ पराजित गरेको खेलमा पनि सन्दिपले ४ विकेटनै लिएका थिए।

खेलमा ४ विकेट संगै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दिपको विकेट संख्या २७ पुगेको छ। मात्र ११ खेलमा सन्दिपले उक्त विकेट लिने क्रममा ३ खेलमा ४ विकेट तथा एक खेलमा ५ वा त्यो भन्दा माथि विकेट लिएका थिए। सन्दिप पछि दोश्रो धेरै विकेट लिने बलर सोमपाल कामि हुन् जसले ७ खेलमा १४ विकेट लिएका छन्। करन केसीले १३ तथा सुशन भारिले ११ विकेट लिएका छन्।

खेलमा पपुवा न्यु गिनीले दिएको १३५ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर ३९.३ ओभरमा भेटायो। खेलमा सन्दिप बाहेक बलिंगमा बिक्रम सोब र कुशल मल्लले समान २ विकेट लिए भने ब्याटिंगमा रोहित पौडेलले ४१, आसिफ शेखले ३० तथा सोमपाल कामिले २२ रन बनाएर महत्वपूर्ण योगदान दिए।

नेपालले पपुवा न्यु गिनीसंग आगामी खेल सेप्टेम्बर १० तारिखमा खेल्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy