एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) को टिम बिराटनगर वारियर्सले टिमको दोश्रो विदेशी खेलाडीको घोषणा गरेको छ।
वारियर्सले क्यानडाका २९ वर्षीय फास्ट बलिंग अल राउण्डर रायन पठानलाई वारियर्सले अनुबन्ध गरेको छ। टिमले पहिलो विदेशी खेलाडीको रुपमा टेस्ट राष्ट्र जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजालाई अनुबन्ध गरिसकेको छ।
क्यानडाको लागि १३ खेल खेलेका पठानले १३ खेलमा १७ विकेट लिएका छन् भने २११ रन बनाएका छन्। दायाँ हाते फास्ट बलर आक्रामक ब्याटिंग गर्ने क्षमता राख्छन्। उनले २०१३ मा केन्या बिरुद्ध आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा केन्या बिरुद्ध एक मात्र एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए। पठानले उक्त खेलमा २ विकेट लिएका थिए। त्यस अघि उनले क्यानडाबाट २०१२ को यु-१९ विश्वकप खेलेका थिए। उनले ग्लोबल टि-२- लिग २०१९ मा भान्कुभर नाईट्सको प्रतिनिधित्व गरेका थिए। हाल उनि अमेरिकाको माइनर लिग क्रिकेट खेलीरहेका छन् जहाँ तिन जना नेपाली राष्ट्रिय क्रिकेटर बसन्त रेग्मी, पृथु बास्कोटा र कनिस्क चौंगाई पनि खेलीरहेका छन्।
बिराटनगर वारियर्स टिमको गत सिजन २०१८ मा कप्तानी पारस खड्काले गरेका थिए जो यो सिजन ईपीएल खेल्ने नखेल्ने निश्चित भएको छैन। खड्का ईपीएल नखेल्ने सम्भावना प्रवल मानिएको छ। हाल अमेरिकाको माइनर लिग खेलीरहेका बसन्त रेग्मी पनि ईपीएल नखेल्ने सम्भावना रहेको छ। वारियर्समा करन केसी, आसिफ शेख, अनिल शाह, सुमित महर्जन, रामनरेश गिरि, हरि बहादुर चौहान, अनिल खरेल, बिक्रम भुसाल, सौरभ खनाल, प्रतिश जिसी र सन्दिप रजाली जस्ता नेपाली खेलाडीहरु छन्।
ईपीएलमा भैरहवाले पहिलो खेल सेप्टेम्बर २६ तारिख आइतबार चितवन टाइगर्स बिरुद्ध खेल्दैछ। यस्तो दोश्रो खेल सेप्टेम्बर २७ तारिखमा काठमाडौँ किंग्स-११ बिरुद्ध, तेश्रो खेल सेप्टेम्बर २९ तारिखमा बिराटनगर वारियर्स बिरुद्ध, चौथों खेल अक्टोबर १ तारिखमा ललितपुर पेट्रिएट्स बिरुद्ध तथा लिग चरणको अन्तिम तथा पाँचौ खेल सेप्टेम्बर २ तारिखमा पोखरा राइनोज बिरुद्ध खेल्नेछ।
२०१७ ईपीएलको विजेता टिम बिराटनगर वारियर्सको ईपीएलको गत सिजन खराब रहेको थियो जसले ५ खेल मध्ये २ खेलमा जित ३ खेलमा हार बेहोर्दै अंकतालिकाको पाँचौ स्थानमा रहँदै प्लेअफ पुग्न असफल रहेको थियो।
