टि-२० विश्वकपको लागि इंग्ल्यान्ड टिमको घोषणा, वोक्स र मिल्स टिममा

२०७८ भाद्र २४, बिहीबार १९:३७

फास्ट बलर टाईमल मिल्स र क्रिस वोक्सलाई समाबेश गर्दै इंग्ल्यान्डले टि-ट्वान्टी विश्वकपको लागि १५ सदस्यीय टिमको घोषणा गरेको छ। टिममा बेन स्टोक्स र इंग्ल्यान्ड टेस्ट कप्तान जो रुटलाई राखिएको छैन।

अन्तिम पटक फेब्रुअरी २०१६ मा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका मिल्सले इंग्ल्यान्डको घरेलु लिग टि-२० ब्लास्ट र द हन्ड्रेडमा राम्रो प्रदर्शन गरेका थिए। मिल्सको गति र डेथ ओभरमा राम्रो बलिंग गर्ने क्षमताका कारण उनले तारिफ पाएका थिए। टिममा टम करनलाई तिन जना रिजर्भ खेलाडीको सूचीमा समाबेश गरिएको छ।

यस्तै वोक्सले यो वर्ष सुरुवातमा श्रीलंका बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय खेलेका थिए जसले २ खेलमा मात्र ३.२८ रन प्रतिओभर खर्चेका थिए। पावरप्लेमा राम्रो बलिंग गर्ने क्षमताका कारण उनले जोफ्रा आर्चरको अनुपस्थितिमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। आर्चर पुरै वर्षको लागि क्रिकेटबाट बाहिर भैसकेका छन्।

टिममा मिल्ससंगै स्याम करन र डेभिड विलि फास्ट बलरको रुपमा रहेका छन्। विलि पछिल्लो समय राम्रो लयमा रहेका छन् र तल्लो क्रममा ब्याटिंगमार्फत पनि योगदान दिन सक्षम रहेका छन्। मार्क वुड र क्रस जोर्डन टिमका अन्य फास्ट बलर हुन्।


टिमको ब्याटिंगमा टि-२० अन्तर्राष्ट्रियका नम्बर एक ब्याट्सम्यान डेबिड मलान, ओएन मोर्गन, जोस बटलर, जोनी बेयरस्टो र जेसन रोय समाबेश छन्। स्याम बिलिंग्सलाई ब्याकअप ब्याट्सम्यानको रुपमा समाबेश गरिएको छ। यस्तै गजबको लयमा रहेका लियाम लिभिंगस्टोनले बिना आश्चर्य टिममा स्थान बनाएका छन्। जेम्स भिन्सलाई रिजर्भ खेलाडीमा राखिएको छ।

क्रिकेटबाट अनिश्चित समयको लागि बिश्राम लिएका बेन स्टोक्सले मानसिक स्वास्थ्य त्यसको पछाडी कारण बताएका थिए। स्टोक्स एसेज सिरिजमा समेत सहभागी नहुने सम्भावना रहेको छ। यस्तै टेस्ट कप्तान रुट टिममा नहुनु पनि आश्चर्य हैन जसले अन्तिम पटक २०१९ मा टि२० अन्तर्राष्ट्रिय खेलेका थिए।

युएईको स्पिन सहयोगी पिचको बाबजुद पनि इंग्ल्यान्डले मुख्य स्पिनरको रुपमा मोईन अलि र आदील रशिदलाई मात्र टिममा समाबेश गरेको छ। लिभिंगस्टोन पनि स्पिन बलिंग गर्न सक्छन्।

इंग्ल्यान्डसंग अन्तिम टिमको चयन गर्न अझै अक्टोबर १० सम्मको समय रहेको छ। इंग्ल्यान्डले पाकिस्तान बिरुद्ध रावलपिंडीमा अक्टोबर १४ र १५ तारिखमा अभ्यासको रुपमा दुई वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेल्ने तालिका रहेको छ।

इंग्ल्यान्ड टिम : ओएन मोर्गन ( कप्तान ) , मोईन अलि, जोनाथन बेयरस्टो, स्याम बिलिंग्स, जोस बटलर, स्याम करन, क्रिस जोर्डन, लियाम लिभिंगस्टोन, डेबिड मलान, टाईमल मिल्स, आदील रशिद, जेसन रोय, डेभिड विलि, क्रिस वोक्स र मार्क वुड ( रिजर्भ खेलाडी – टम करन, लियाम डसन र जेम्स भिन्स ) 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy