मलहोत्राको ऐतिहासिक प्रदर्शन, अमेरिकाद्वारा पीएनजी पराजित

२०७८ भाद्र २४, बिहीबार २३:२५

जस्करन मलहोत्राको ऐतिहासिक प्रदर्शनको मद्दतले अमेरिकाले दोश्रो खेलमा पपुवा न्यु गिनीलाई १३४ रनले पराजित गर्दै दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज २-० ले जितेको छ।

ओमानको अल अमिरात मैदानमा सम्पन्न खेलमा अमेरिकाले दिएको २७२ रनको लक्ष्य पछ्याएको पपुवा न्यु गिनीले ३७.१ ओभरमा १३७ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। उसको लागि नोरमन भानुवा र लेगा सीएकाले सर्वाधिक ३० रन तथा चार्ल्स अमिनीले १७ रन बनाए। अमेरिकाको बलिंगमा दायाँ हाते पेसर अभिषेक परादकरले सर्वाधिक ४ विकेट ( ९-२-२६-४ ) लिए भने सौरभ नेत्रभाल्करले २ तथा जस्दिप सिंह, स्टेभेन टेलर, करिमा गोरे र निसर्ग पटेलले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ९ विकेट क्षेतीमा २७१ रन बनाएको थियो।

अमेरिकाको लागि जस्करन मलहोत्राले अमेरिकाको एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासको पहिलो शतक बनाउने क्रममा अविजित १७३ रन बनाए। उनले १२४ बलमा ४ चौका र १६ छक्का प्रहार गरे। यस क्रममा मलहोत्राले इनिंग्सको अन्तम ओभरमा पपुवा न्यु गिनीका दायाँ हाते फास्ट बलर गौडी टोकालाई लगातार ६ छक्का प्रहार गरेका थिए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने उनि दक्षिण अफ्रीकाका हर्शल गिब्स पछि दोश्रो क्रिकेटर बनेका छन्। १६ छक्का प्रहार गरेका उनि एकै इनिंग्समा धेरै छक्का प्रहार गर्ने संयुक्त रुपमा दोश्रो स्थानमा रहेका छन्। ओएन मोर्गनको नाममा एकै इनिंग्समा १७ छक्का सहित सर्वाधिक छक्काको रेकर्ड रहेको छ भने मलहोत्रासंगै रोहित शर्मा, एबि डी भिल्लीयर्स र क्रिस गेलले समान १६ छक्का प्रहार गरेका छन्।

कमजोर सुरुवात गरेको अमेरिकाले पहिलो ३ विकेट २९ रनमै गुमाउन पुगेको थियो। पाँचौ नम्बरमा ब्याटिंग गरेका जस्करन मलहोत्राले एक किनार सम्हालेर ब्याटिंग गरे। उनले चौथों विकेटको लागि आरोन जोन्ससंग ४३ रनको तथा पाँचौ विकेटको लागि निसर्ग पटेलसंग ७९ रनको साझेदारी गरे। जोन्स २२ तथा पटेल २० रन बनाएर आउट भए पछि अमेरिकाले लगातार विकेट गुमाएपनि मलहोत्राले एर्को किनार सम्हालीरहे र अन्तिममा आक्रामक ब्याटिंग गरे। फलस्वरुप ४७ ओभरमा २१६/९ विकेट गुमाएको अमेरिकाले अन्तिम ३ ओभरमा योगफलमा थप ५५ रन जोड्न सक्यो।

पपुवा न्यु गिनीको बलिंगमा नोसैना पोकना, डामियन राभु, चाड सोपरले समान २ विकेट तथा चार्ल्स अमिनीले १ विकेट लिए।

पपुवा न्यु गिनीसंग पहिलो अभ्यास खेलमा अमेरिका ७ विकेटले विजयी भएको थियो। पपुवा न्यु गिनी नेपालसंग पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा २ विकेटले पराजित भएको थियो। नेपालले शुक्रबार पपुवा न्यु गिनीसंग दोश्रो खेल खेल्दैछ। खेल नेपाली समय बेलुका ४:१५ बजे सुरु हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy