एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) अन्तर्गत शरद भेसावकर कप्तानीको टिम भैरहवा ग्ल्याडीएटर्सले टिमको तेश्रो विदेशी खेलाडीको रुपमा बंगलादेश स्टार तामिम इक्बाललाई अनुबन्ध गरेको छ।
यस अघिनै भैरहवाले अनुभवी श्रीलंकन क्रिकेटर उपुल थारांगा र धम्मिका प्रशादलाई अनुबन्ध गरिसकेको छ। यस अघि ग्ल्याडीएटर्सले दिनेश चण्डीमाललाई अनुबन्ध गरेता पनि श्रीलंकन टिममा पुनरागमन गरेपछि लिग खेल्न पाउने छैनन्।
आगामी टि-ट्वान्टी विश्वकपबाट नाम फिर्ता लिएका इक्बालले ईपीएल खेल्न बंगलादेश क्रिकेट बोर्डसंग नो अब्जेक्सन लेटर ( एनओसी ) को लागि आवेदन दिएका थिए जसपछि उनले अनुमति पाएका हुन्।
इक्बाल बंगलादेशको टेस्ट र एकदिवसीय फर्म्याटको सर्वाधिक रनकर्ता हुन् भने टि-२० को तेश्रो सर्वाधिक रन कर्ता ब्याट्सम्यान हुन्। यस्तै उनि एकदिवसीयमा बंगलादेशको सर्वाधिक शतक बनाउने ब्याट्सम्यान हुन्। देशको लागि ६४ टेस्ट, २१९ एकदिवसीय र ७८ टि-ट्वान्टी खेलीसकेका ३२ वर्षीय देब्रे हाते ब्याट्सम्यान इक्बलले क्रमशः टेस्टमा ९ शतक र ३१ अर्धशतक मद्दतले ४,७८८ रन, एकदिवसीयमा १४ शतक र ५१ अर्धशतक मद्दतले ७,६६६ रन तथा टि-२० मा १ शतक र ७ अर्धशतक मद्दतले १,७५८ रन बनाएका छन्।
यो वर्ष अप्रिलमा श्रीलंका बिरुद्ध दुई टेस्ट खेल्ने क्रममा घुंडाको चोटले इक्बाललाई सताएको थियो। त्यसपछि उनले श्रीलंकासंग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज र बंगबन्धु ढाका प्रिमियर लिग खेलेका थिए। ढाका प्रिमियर लिगको दौरान चोटका कारण उनले लिग छोडेका थिए जसपछि जिम्बाब्वे बिरुद्धको एउटा टेस्ट गुमाएका थिए। त्यसपछि उनले जिम्बाब्वे बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा टिमको कप्तानी गरेका थिए। त्यसपछि टि-२० सिरिज छोडेर उनि उपचारको लागि घर फर्केका थिए।
सन् २००८ मा आयरल्याण्ड बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका इक्बालले डेब्युमै शतक बनाएका थिए। उनि एकदिवसीय अन्तर्राष्ट्रिय डेब्युमा शतक बनाउने विश्वको पाँचौ कान्छो खेलाडी हुन् जसको उमेर त्यति बेला १९ वर्ष २ दिन मात्र रहेको थियो।
ईपीएलमा हालसम्म टेस्ट रास्ट्रको लागि खेलीसकेका १० जना खेलाडीहरु बिभिन्न टिमहरुमा अनुबन्धित भैसकेका छन्। ललितपुर पेट्रिएट्सले अफगानिस्तानका अज्म्तुल्लाह ओमरजाई, काठमाडौँ किंग्स एघारले पाकिस्तानी स्टार खेलाडी शाहिद अफ्रिदी, भैरहवा ग्ल्याडीएटर्सले उपुल थारांगा र धम्मिका प्रशाद र तामिम इक्बाल , चितवन टाइगर्सले अफगानीस्तानका मोहम्मद शाहजाद, पाकिस्तानका डानिश अजिज र श्रीलंकाका सेक्कुगे प्रशन्नालाई तथा बिराटनगर वारियर्सले जिम्बाब्वेका सिकन्दर रजालाई अनुबन्ध गरिसकेको छ।
ईपीएलको चौथो संस्करण असोज ९ गते देखि ( सेप्टेम्बर २५ तारिख ) सुरु हुँदैछ। लिगमा डिफेन्डिङ च्याम्पियन ललितपुर पेट्रिएट्स सहित बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीएटर्स, चितवन टाइगर्स, पोखरा राइनोज र काठमाडौँ किंग्स -११ गरि ६ वटा टोलि सहभागी रहेका छन्।
