ओपनर इभिन लुइसले विस्फोटक ब्याटिंग गर्दै शतक बनाउदा डिफेन्डिङ च्याम्पियन ट्रिनबागोलाई ८ विकेटले पराजित गर्दै सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स करेबियन प्रिमियर लिगको सेमीफाइनल प्रवेश गरेको छ।
सेन्ट किट्सको घरेलु मैदान वार्नर पार्कमा आइतबार बिहान सम्पन्न खेलमा ट्रिनबागोले दिएको १६० रनको लक्ष्य सेन्ट किट्सले १४.४ ओभरमै २ विकेट क्षेतीमा भेटायो।
सेन्ट किट्सका ओपनर इभिन लुइसले टि-२० करियरको पाँचौ शतक बनाउने क्रममा अविजित १०२ रन बनाए। यस क्रममा लुइसले ५२ बलमा ५ चौका र ११ छक्का मद्दतले १०२ रन बनाए। ५१ औं बलमा शतक पुरा गर्ने क्रममा उनले एण्डरसन फिलिपलाई छक्का प्रहार गरेका थिए। २९ वर्षीय देब्रे हाते ब्याट्सम्यानले यस क्रममा क्रिस गेलसंग पहिलो विकेटको लागि ६७ तथा तेश्रो विकेटको लागि रभी बोपरासंग अव्जित ८५ रनको साझेदारी गरे। गेलले १८ बलमा ६ चौका र १ छक्का मद्दतले ३५ तथा बोपराले १३ बलमा ७ रन बनाए।
यस अघि टस हारेर ब्याटिंग गरेको ट्रिनबागोले २० ओभरमा ७ विकेट क्षेतीमा १५९ रन बनाएको थियो। उसको लागि कोलिन मुनरोले सर्वाधिक ४७ रन, सुनिल नारायणले ३३ रन, ड्वेन ब्राभोले २२ रन तथा काईरन पोलार्डले १५ रन योगदान दिए। सेन्ट किट्सका बलर डोमिनिक ड्रेक्स ( ४-०-३३-३ ) र जोन रस जग्गेसरले समान ३ विकेट तथा शेल्डन कटरेलले १ विकेट लिए।
जित पछि सेन्ट किट्सले एक खेल अगाडी सेमीफाइनलमा स्थान पक्का गरेको छ जसको ९ खेलमा ६ जित पछि १२ अंक रहेको छ। लिग अन्तर्गत आज राति बार्बेडोस र सेन्ट लुसिया, गायना र जमैका तथा सेन्ट किट्स र ट्रिनबागो बीचको खेलले सेमीफाइनल पुग्ने अन्य टिम तय हुनेछ। सेमीफाइनल खेलहरु सेप्टेम्बर १४ तथा फाइनल सेप्टेम्बर १५ तारिखमा खेलिनेछ। 
