आसिफ र कुशलले बनाए साझेदारीको नयाँ कीर्तिमान

२०७८ भाद्र २८, सोमबार २१:४८

अमेरिका र नेपाल बीच ओमनामा जारी विश्व कप लिग-२ अन्तर्गत खेलमा नेपाली ओपनर कुशल भुर्तेल र आसिफ शेखले नयाँ कीर्तिमान बनाएका छन्।

खेलमा अमेरिकाले दिएको २३१ रनको लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले १४ ओभरमा ६६ रनको साझेदारी गर्दै कीर्तिमान बनाएका हुन्। ६६ रनको ओपनिंग साझेदारी नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक साझेदारी हो। १४ औं ओभरको अन्तिम बलमा नोस्थुस केन्जिंगेले आसिफलाई क्याच आउट गर्दै साझेदारी समाप्त गरेका थिए।

नेपालको यस अघिको सर्वाधिक ओपनिंग साझेदारी ६१ रनको थियो। ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले २०१९ मा युएई बिरुद्ध उक्त साझेदारी गरेका थिए। हालसम्म नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा मात्र ३ पटक अर्धशतकीय साझेदारी गर्न सकेको छ। सबै भन्दा अघि २०१८ मा नेदरल्याण्ड बिरुद्ध ज्ञानेन्द्र मल्ल र अनिल शाहले अर्धशतकीय साझेदारी गर्ने क्रममा ५८ रन जोडेका थिए।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफ र कुशलको ६६ रनको साझेदारी समग्रमा संयुक्त रुपमा चौथों ठूलो साझेदारी हो। पपुवा न्यु गिनी बिरुद्ध रोहित पौडेल र करन केसीले सातौँ विकेटको लागि ६६ रनको साझेदारी गरेका थिए। सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान ज्ञानेन्द्र मल्ल र रोहित पौडेलको नाममा रहेको छ जसले भर्खरै पपुवा न्यु गिनी बिरुद्ध तेश्रो विकेटको लागि ८९ रनको साझेदारी गरेका थिए। कुशल मल्ल र बिनोद भण्डारीको ८४ रनको तथा आरिफ शेख र रोहित पौडेल बीचको ८२ रनको साझेदारी दोश्रो र तेश्रो सर्वाधिक साझेदारी हो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy