ओमानमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकासंगको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोश्रो खेलमा नेपाल र ओमान प्रतिस्पर्धा गर्दैछन्। पहिलो खेलमा सोमबार नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो।
अल अमिरात मैदानमा हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय लिएको छ। खेलमा नेपालले आफ्नो अघिल्लो खेलकै अन्तिम एघारलाई मैदानमा उतार्ने भएको छ। अर्थात् शरद भेसावकर सहित आरिफ शेख, अविनाश बोहरा, पवन सर्राफ र गुल्सन झाले आज पनि मौका पाएनन्। दिपेन्द्र ऐरी घाइते भएका कारण सिरिज बाटै बाहिर भइसकेका छन्।
नेपालको अन्तिम ११ : ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, बिनोद भण्डारी, कुशल मल्ल, करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, सुशन भारि र बिक्रम सोब
मैदान बाहिर रहेका खेलाडीहरु : अविनाश बोहरा, शरद भेसावकर, पवन सर्राफ, आरिफ शेख, दिपेन्द्र ऐरी, गुल्सन झा
आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ भने ओमान १६ औं स्थानमा। तर विश्वकप लिग-२ अन्तर्गत यस अघि खेलिएको दुवै खेलमा ओमानले नेपाललाई पराजित गरेको थियो। विश्वकप लिग-२ अंक तालिकामा छैठौं स्थानमा रहेको नेपालले आजको खेल जितेको खण्डमा अंकतालिकामा ७ अंकको साथ पाँचौ स्थानमा रहेको युएईलाई पछि पार्दै पाँचौ स्थानमा उक्लनेछ।
के हो विश्वकप लिग-२ : विश्वकप लिग-२ मा नेपाल, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया, युएई र पपुवा न्यु गिनी गरि ७ टोलि छन्। यो प्रतियोगिता २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको खुड्किलोको रुपमा रहेको छ। २०१९ देखि २०२१ फेब्रुअरी सम्म बिभिन्न चरणमा चल्ने यो प्रतियोगिताको अंकतालिकामा उत्कृस्ट-३ स्थानमा पर्ने टोलि २०२३ एकदिवसीय विश्वकप छनोटमा पुग्नेछ भने आगामी विश्वकप लिग-२ को लागि समेत छनोट हुनेछ । शिर्ष-३ स्थानमा पुग्न असफल हुने अंकतालिकाको तल्लो स्थानको ४ टिम २०२२ मा हुने आईसीसी विश्वकप छनोट प्लेअफमा पुग्नेछ जुन प्रतियोगितामा उत्कृस्ट-२ हुन सके २०२३ एकदिवसीय विश्वकप छनोटमा पुग्नेछ।
