जतिन्दर सिंहले विस्फोटक ब्याटिंग गर्दै शतक प्रहार गर्दा नेपाललाई ५ विकेटले पराजित गर्दै घरेलु टोलि ओमानले त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा विजयी सुरुवात गरेको छ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १९७ रनको लक्ष्य ओमानले ५ विकेट क्षेतीमा ३१.१ ओभरमै पुरा गर्यो।
आईसीसी विश्वकप लिग-२ मा ओमानको यो ११ औं खेलमा नवौं जित हो भने नेपाल बिरुद्ध तेश्रो जित हो। जित पछि ओमान १८ अंक सहित शिर्ष स्थानमा कायमै छ। यस अघि गत वर्ष ओमानले नेपालमा खेलिएको विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजमा दुई खेलमा पराजित गरेको थियो। लिग-२ मा नेपालको छैठौं खेलमा यो तेश्रो हार हो। हारपछि ६ अंकका साथ नेपाल छैठौं स्थानमा यथावत रहेको छ।
ओमानको लागि ओपनर जतिन्दर सिंहले करियरको पहिलो शतक प्रहार गर्ने क्रममा सर्वाधिक १०७ रन बनाए। उनले ६२ बलमा १२ चौका र ६ छक्का प्रहार गरे। उनले २१ बलमै अर्धशतक बनाएका थिए। उनले सोमपाल कामिले गरेको पाँचौ ओभरमा ३ छक्का र ३ चौका, करन केसीले गरेको आठौँ ओभरमा ३ चौका र १ छक्का तथा बिक्रम सोबले गरेको दोश्रो ओभरमा २ चौका र १ छक्का प्रहार गरे।
लक्ष्य पछ्याउने क्रममा ओमान ओपनर शोयब खानलाई करन केसीले तेश्रो ओभरमा क्याच आउट गराएका थिए। त्यसपछि जतिन्दर सिंह र अयान खानले दोश्रो विकेटको लागि मात्र ४२ बलमा ९१ रनको साझेदारी गरे। ११ औं ओभरमा खानलाई सुशन भारिले क्याच आउट गराए। त्यसपछि कप्तान जिशान मक्सुदलाई कुशल मल्लले क्याच आउट गराउदै नेपाललाई खेलमा फर्काए। जतिन्दरले चौथों विकेटको लागि मोहम्मद नदीमसंग ४० रन जोडे। ३६ औं ओभरमा सिंहलाई कुश मल्लले क्याच आउट गराए। त्यसपछि सुरज कुमारले केहि आक्रामक सट खेल्दै ओमानलाई लक्ष्य नजिक पुर्याए। कुमारलाई करन केसीले क्याच आउट गराए जसपछि नदीमले टिमलाई जितसम्म पुर्याए।

नेपालको बलिंगमा कुशल मल्ल ( १०-०-३८-२ ) र करन केसी ( ५-०-५२-२ ) ले समान २ विकेट तथा सुशन भारि ( १०-१-४०-१ ) ले १ विकेट लिए। सोमपाल कामि ( ४-१-३८-० ) र बिक्रम सोब ( २.१-०-२९-० ) विकेटविहिन रहे। दोश्रो इनिंग्सको सुरुवातमै पेटको समस्याका कारण मैदान बाहिर हुँदा सन्दिप लामिछानेले बलिंग गर्न सकेनन् र मैदान बाहिरनै रहन पुगे।
यस अघि टस जितेर ब्याटिंग रोजेको नेपालले ४७.४ ओभरमा १९६ रनमा सम्पूर्ण विकेट गुमाएको थियो।
नेपालको लागि ओपनर आसिफ शेखले व्यक्तिगत पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक बनाउने क्रममा सर्वाधिक ९० रन बनाए जुन क्रममा उनले ११२ बलमा ७ चौका र १ छक्का प्रहार गरे। आसिफको स्कोर एकदिवसीय अन्तर्राष्ट्रियमा पारस खड्काको ११५ रन पछि दोश्रो व्यक्तिगत सर्वाधिक स्कोर हो। यस्तै ओपनरको रुपमा यो नेपाली ब्याट्सम्यानको सर्वाधिक स्कोर समेत हो। कुशल भुर्तेलले अघिल्लो खेलमा ८४ रन बनाएका थिए जुन कीर्तिमान आसिफले तोडेका हुन्।
आसिफ बाहेक अन्य नेपाली ब्याट्सम्यानले भने ठूलो स्कोर बनाउन सकेनन्। ज्ञानेन्द्र मल्ल र करन केसीले समान २१, रोहित पौडेलले २० तथा सन्दिप लामिछानेले १६ रन बनाए। सोमपाल कामि ७, बिनोद भण्डारी ६, कुशल मल्ल ४ तथा कुशल भुर्तेल खाता नखोली आउट भए।
ओपनर कुशल भुर्तेल इनिंग्सको दोश्रो बलमै खाता नखोली बिलाल खानबाट बोल्ड भएपछि दोश्रो विकेटको लागि आसिफले ज्ञानेन्द्र मल्लसंग ५८ रनको साझेदारी गरे। मल्ल १२ औं ओभरमा मोहम्मद नदीमबाट क्याच आउट भए। त्यसपछि आसिफले रोहित पौडेलसंग ४२ रन जोडे। २३ औं ओभरमा रोहितलाई नेस्टोर धाम्बाले क्याच आउट गराए। त्यसपछि आसिफले एक किनार सम्हालेता पनि नेपालले अर्को किनारमा लगातार विकेट गुमाउन पुग्यो। ठूलो सट खेल्ने प्रयास गर्दा बिनोद भण्डारीलाई धाम्बाले लंग अनअनमा क्याच आउट गराए। त्यसपछि सोमपाल कामि रन आउट हुन पुगे। लगत्तै कुशल मल्ललाई बिलाल खानले बोल्ड गरे। ३६ औं ओभरमा आसिफलाई बिलाल खानले बोल्ड गरे। सोहि ओभरमा बिक्रम सोब पनि बिलालबाट बोल्ड भए। फलस्वरुप १००२/२ को अवस्थाबाट नेपाल १५६/८ को अवस्थामा पुग्यो।
दशौँ नम्बरमा ब्याटिंग गरेका सन्दिप लामिछानेले १ छक्का र १ चौका मद्दतले १६ रन बनाउदै नेपालको योगफल बढाए। सन्दिप रन आउट भएपछि करन केसीले अन्तिम विकेटको लागि सुशन भारिसंग २३ रनको साझेदारी गरे।
ओमानको बलिंगमा देब्रे हाते फास्ट बलर बिलाल खानले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा १ मेडन ओभर गर्दै ४७ रन खर्चिए। नेस्टर धाम्बाले २ विकेट ( ५-०-२५-२ ) तथा जिशान मक्सुद ( ८.४-१-३२-१ ) र मोहम्मद नदीम ( ७-०-२६-१ ) ले समान १ विकेट लिए।
