भारतको तिन वटै फर्म्याटको कप्तान बिराट कोहलीले टि-ट्वान्टी विश्वकप २०२१ पछि भारतको टि-२० टिमको कप्तानी छाड्ने घोषणा गरेका छन्।
बिहिबार ट्वीटरमा बिज्ञप्ति जारि गर्दै कोहलीले सबैभन्दा छोटो फर्म्याटको कप्तानी छाड्ने निर्णय लिएको बताएका हुन्। कामको भार कम गर्न कोहलीले उक्त निर्णय लिएको बताएका छन्। निर्णयमा पुग्नु अघि कोहलीले यस बारे प्रशिक्षक रवी शास्त्री र सिमित ओभरको उपकप्तान रोहित शर्मासंग सल्लाह लिएका थिए। कोहलीको स्थान कसले लिनेछन् त्यसको घोषणा विश्वकप पछि गरिनेछ। अधिकारिक घोषणा नभएता पनि रोहित शर्माले उनको स्थान परिपूर्ति गर्ने निश्चित जसो मानिएको छ।
कप्तानी छोड्ने घोषणा गर्दै कोहलीले लेखेका छन् – “मैले भारतको प्रतिनिधित्व पुरै क्षमता दिएर गर्ने सौभाग्य पाएँ। मलाई कप्तानको यात्रामा साथ दिने सबैप्रति आभारी छु। उनीहरुको साथ बिना यो सम्भव थिएन। साथी खेलाडी, सहयोगी स्टाफ,छनोट समिति, प्रशिक्षक र प्रत्येक भारतीय जसले हाम्रो जितको लागि प्रार्थना गरे।”
बिराटले थप बताएका छन् – “वर्कलोडलाई बुझ्नु महत्वपूर्ण कुरा हो। पछिल्लो ८-९ वर्ष देखि तिन वटै फर्म्याटमा खेल्ने क्रममा मलाई यो महसुस भयो कि टेस्ट र वानडेमा कप्तानी गर्नको लागि आफुलाई समय दिन जरुरि छ। मैले टि-२० कप्तानको रुपमा टिमलाई सबै कुरा दिएको छु र म ब्याट्सम्यानको रुपमा अगाडी बढेर टिमको लागि त्यो काम गर्न निरन्तरता दिनेछु।”
“कुनै शंका छैन कि यो निर्णय लिन मलाई निकै समय लाग्यो। मेरो नजिकका व्यक्ति रबि भाई ( रवी शास्त्री ) र रोहित ( शर्मा ) जो नेतृत्व समुहका अनिवार्य हिस्सा हुन्, उनीहरुसंग सल्लाह गरेपछि युएईमा हुने टि-२० विश्वकप पछि टि-२० कप्तानको रुपमा पद छोड्ने निर्णयमा पुगेको हुन्। मैले बिसीसीआईको सचिव जय शाह र अध्यक्ष सौरभ गांगुली सहित सबै चयनकर्तासंग यो बारे कुरा गरेक छु। म आफ्नो क्षमताको मुताविक अगाडी भारतीय क्रिकेट र भारतीयहरुको सेवा जारि राख्नेछु।”
🇮🇳 ❤️ pic.twitter.com/Ds7okjhj9J
— Virat Kohli (@imVkohli) September 16, 2021
कोहलीले २०१७ मा पहिलो पटक टि-२० अन्तर्राष्ट्रियमा भारतको कप्तानी गरेका थिए। त्यसपछि ४५ खेलमा टिमको नेतृत्व गर्ने क्रममा भारतले २७ खेलमा जित र १४ खेलमा हार बेहोर्यो। दुई खेल बराबरी हुँदा दुई खेल नतिजाविहिन रहेको थियो।
टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कोहली ३ हजार रन पुरा गर्ने विश्वकै एक मात्र क्रिकेटर हुन् जसले ९० खेलमा ५२.६५ को औशतले ३,१५९ रन बनाएका छन्।
टि-ट्वान्टी विश्वकप अक्टोबर १७ तारिख देखि ओमान र युएईमा संयुक्त रुपमा आयोजना हुनेछ जसमा कोहलीले अन्तिम पटक भारतीय टि-२० टिमको कप्तानी गर्नेछन्। भारतले विश्वकपको सुरुवात पाकिस्तानसंग अक्टोबर २४ तारिखमा खेल्दै गर्नेछ। खेलतालिका हेर्नुस
