प्रतिस्पर्धात्मक खेलमा अमेरिकालाई ४ विकेटले पराजित गर्दै ओमानमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रियमा ओमानले लगातार दोश्रो जित दर्ता गरेको छ। अल अमिरात मैदानमा अमेरिकाले दिएको १७९ रनको लक्ष्य ओमानले ६ विकेट क्षेतीमा ४९.४ ओभरमा भेटायो। आफ्नो पहिलो खेलमा ओमानले नेपाललाई ५ विकेटले पराजित गरेको थियो भने अमेरिका पहिलो खेलमा नेपालसंग ५ विकेटले पराजित भएको थियो।
लक्ष्य पछ्याउने क्रममा नेपाल बिरुद्ध शतक बनाएका ओपनर जतिन्दर सिंह १७ तथा शोयब खान खाता नखोली सौरभ नेत्रभाल्करबाट आउट भए। तेश्रो विकेटको लागि आयान खान र कप्तान जिशान मक्सुदले ३७ रन जोडे। खान १८ रन तथा मक्सुद ३१ रन बनाएर आउट भए। फलस्वरुप ओमानले ८२ रनमा ४ विकेट गुमाउन पुग्यो।
पाँचौ विकेटको लागि सुरज कुमारले मोहम्मद नदीमसंग ३९ तथा सन्दिप गौडसंग २२ रन जोडे। ३२ रन बनाएका नदीमलाई नेत्रभाल्करले तेश्रो शिकार बनाए भने ३ छक्का मदतले ३५ रन बनाएका सुरजलाई हचीन्सनले बोल्ड गरे अमेरिकालाई खेलमा फर्काए। १४३ रनमा ६ विकेट गुमाएको अवस्थामा सन्दिप गौडले नसिम खुसिसंग साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए। अन्तिम २ ओभरमा जित्न १५ रन आवस्यक हुँदा गौडले हचिन्सनको ओभरमा एक चौका र एक छक्का प्रहार गर्दा १३ रन बन्यो। अन्तिम ओभरमा आवस्यक २ रन दोश्रो र चौथों बलमा १/१ रन लिंदै ओमान जितसम्म पुर्यो। गौडले २७ तथा खुसिले १५ रन बनाए। दुवैले सातौँ विकेटको लागि अविजित ३६ रनको साझेदारी गरे।
अमेरिकाको बलिंगमा कप्तान सौरभ नेत्रभाल्करले सर्वाधिक ३ विकेट ( १०-२-३९-३ ) लिए। स्टेभेन टेलर, एल्मोर हचीन्सन र नोस्थुश केंजिगेले समान १ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको अमेरिकाले ४४.४ ओभरमा सबै विकेट गुमाएर १७८ रन बनाएको थियो। अमेरिकाको लागि एल्मोर हचीन्सनले सर्वाधिक योगदान दिने क्रममा अविजित ४९ रन तथा करिमा गोरीले ४४ रन बनाए। जस्करन मलहोत्राले २१, सुशान्त मोदानीले २०, निसर्ग पटेलले १३ रन बनाए।
अमेरिकाले सुरुवात देखि लगातार विकेट गुमाउदा एक समय सानो योगफलमा समेटिने अवस्थामा थियो। तर ९६ रनमा ८ विकेट गुमाएको अवस्थामा नवौं विकेटको लागि करिमा गोरेले एल्मोर हचिन्सनसंग ६९ रनको साझेदारी गर्दै अमेरिकालाई सम्मानजनक योगफलतर्फ डोर्याएका थिए। गोरे आउट भएपछि हचिन्सनले दशौँ विकेटको लागि सौरभ नेत्रभाल्करसंग १६ रनको साझेदारी गरे।
ओमानको बलिंगमा बिलाल खान ( ८.४-०-४९-२ ) , मोहम्मद नदीम ( १०-१-३४-२ ) र आयान खान ( ९-२-२९-२ ) ले समान २ विकेट तथा कलेमुल्लाह र जिशान मक्सुदले समान १ विकेट लिए।
जित पछि विश्वकप लिग-२ अंकतालिकामा ओमान १२ खेलमा १० जित र २ हार पछि २० अंक सहित पहिलो स्थानमा यथावत रहेको छ। अमेरिका १४ खेलमा ६ जित र ८ हार पछि १२ अंक सहित दोश्रो स्थानमा छ। नेपाल ६ खेलमा ३ जित र ३ हार पछि ६ अंक सहित छैठौं स्थानमा रहेको छ।
सिरिज अन्तर्गत चौथों खेलमा नेपालले अमेरिकासंग शुक्रबार खेल्नेछ। खेल नेपाली समय ४:१५ बजे बेलुका सुरु हुनेछ।
