घातक बलिंग गरेका करन चुनिए प्लेयर अफ द म्याच, यस्तो रह्यो प्रदर्शन

२०७८ आश्विन ३, आईतवार २१:५४

आयोजक ओमान बिरुद्ध शानदार बलिंग गर्दै कीर्तिमान बनाएका नेपाली फास्ट बलर करन केसी प्लेयर अफ द म्याच चुनिएका छन्।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कर दोश्रो पटक प्लेयर अफ द म्याच चुनिएका हुन्। यस अघि उनि अगत वर्ष अमेरिकासंग लिग-२ अन्तर्गत घरेलु मैदानमा खेलिएको त्रिकोणात्मक सिरिजमा अमेरिकासंग प्लेयर अफ द म्याच चुनिएका थिए। उक्त खेलमा पनि करनले ४ विकेट लिएका थिए जुन क्रममा मात्र १५ रन खर्चेका थिए।

ओमान बिरुद्ध नेपालले ७ विकेटको जित दर्ता गर्दा करनले ८ ओभर बलिंग गर्दै १ मेडन सहित २५ रन खर्चेर ४ विकेट लिए। यस क्रममा करनले ओमानको माथिल्लो क्रमका तिन जना ब्याट्सम्यान जतिन्दर सिंह, सुफ्यान मेहमुद र आयान खानलाई पहिलो स्पेलमै पेभेलियन फर्काएका थिए। करनको स्पेल पछि ओमान ३०/३ को अवस्थामा पुगेको थियो जसपछि नेपाल खेलमा पूर्णतः हावी रह्यो। खेलमा करन पछि लेग स्पिनर सन्दिप लामिछानेए पनि ४ विकेट लिए जुन क्रममा ८.१ ओभरमा २ मेडन ओभर गर्दै १८ रन मात्र खर्चिए।

करनको कीर्तिमान : करन केसी ओमान बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्। नामिबियाका जोनाथन स्मिथ ( ८ विकेट ) लाई उछिन्दै करनले यो कीर्तिमान आफ्नो नाम गरेका हुन्। ओमान बिरुद्ध ४ खेल खेल्ने क्रममा करनले कुल १० विकेट लिएका छन्।

खेलमा टस हारेर पहिले ब्याटिंग गरेको ओमानले ३७.१ ओभरमा १२१ रनमै सबै विकेट गुमाएको थियो। करन केसी र सन्दिप लामिछानेले ओमानको ४ विकेट लिए भने शरद भेसावकरले २ विकेट लिए। लक्ष्य पछ्याउने क्रममा कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक अविजित ५२ तथा आसिफ शेखले ४० रन बनाउदै जितको आधार तयार गरे।

जित पछि नेपाल आईसीसी विश्वकप लिग-२ अंकतालिकाको चौंथो स्थानमा उक्लन सफल भएको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy