वेस्टइन्डिजका फास्ट बलर केसरिक विलियम्स एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) खेल्न काठमाण्डौ आईपुगेका छन्। ईपीएल सेप्टेम्बर २५ तारिख देखि सुरु हुँदैछ।
लिगमा पोखरा राइनोज टिममा अनुबन्धित रहेका ३१ वर्षीय खेलाडी सोमबार दिउँसो नेपाल पुगेका हुन्। उनि लिगको लागि नेपाल आइपुग्ने पहिलो टेस्ट राष्ट्रका क्रिकेटर हुन्।
२०१६ मा वेस्टइन्डिजको लागि टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका विलियम्सले देशको लागि ८ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र २६ टि-२० अन्तर्राष्ट्रियमा प्रतिनिधित्व गर्ने क्रममा ९ र ४१ विकेट लिएका छन्। उनि भर्खरै वेस्टइन्डिजमा सम्पन्न करेबियन प्रिमियर लिगको ( सिपिएल ) उपविजेता टिम सेन्ट लुसिया किंग्स टिममा थिए। सिपिएलमा उनले ८ खेलमा ११ विकेट लिंदै राम्रो लय देखाएका थिए।
पोखरा राइनोजमा विदेश खेलाडीको रुपमा दक्षिण अफ्रिदी ब्याट्सम्यान रिचर्ड लेभी र श्रीलंकन अलराउण्डर असेला गुनरत्ने तथा श्रीलंकन यु-१९ क्रिकेटर रहीसकेका ब्याट्सम्यान सहान अरचिगे आवद्ध भैसकेका छन्। लेभी गत सिजन पनि पोखरासंग आवद्ध रहेका थिए। भीले गत सिजन ४ खेल खेल्ने क्रममा ५१ को औशत र १९६.१५ को प्रतियोगिताकै सर्वाधिक स्ट्राइक रेटमा २०४ रन बनाएका थिए। त्यस क्रममा उनले ललितपुर बिरुद्ध एक खेलमा ३९ बलमा ३ चौका र ९ छक्का मद्दतले ८४ तथा भैरहवा बिरुद्ध ३६ बलमा ७ चौका र ७ छक्का मद्दतले ७९ रन बनाएका थिए।
पोखरा राइनोज टिममा राष्ट्रिय क्रिकेटर बिनोद भण्डारी, सुनिल धमला, सुशन भारि, बिक्रम सोब लगायत रित गौतम, बिपिन रावल, लोकेश बम, रबिन्द्र शाही, बिबेक यादव, किशोर महतो, नन्दन यादव, देव शाह, अर्जुन कुमाल र बिपिन खत्री जस्ता युवा खेलाडीहरु आवद्ध रहेका छन्। टिमको प्रशिक्षकमा राष्ट्र्यीय टिमका पूर्व प्रशिक्षक उमेश पटवाल, बलिंग प्रशिक्षकमा पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचन रहेका छन्।
ईपीएलको गत सिजन पोखरा लिग चरणको ५ वटै खेलमा पराजित हुँदा प्लेअफ चरण पुग्न असफल रहेको थियो।
