राष्ट्रिय क्रिकेट टिमका विकेट किपर ब्याट्सम्यान बिनोद भण्डारी र संचारकर्मी सोनीका अर्याल विवाह बन्धनमा बाँधिने भएका छन्।
भण्डारी र अर्याल बीच लामो समय देखि प्रेम सम्बन्ध रहँदै आएको थियो जसलाई दुवैले विहेमा परिणत गर्ने भएका हुन्। बुधबार काठमाडौँको सामाखुसीमा दुवै बीच टिकाटालो कार्यक्रम सम्पन्न भएको छ। दुवैले गोप्य रुपमा टिकाटालो गरेका हुन्। दुवैले आगामी वर्ष लगनगाँठो कस्ने बुझिएको छ।
हिमालय टेलिभिजनमा ५ वर्ष अघि ‘क्रिकेट एण्ड मोर’ कार्यक्रम चलाउदा देखिनै दुई जना बीच प्रेमसम्बन्धको चर्चा चलेको थियो। हाल सोनीका ग्यालेक्सी टेलिभिजनमा आवद्ध रहेकी छिन्। पछिल्लो समय दुवैले खुलेर एक-अर्का बीचको सम्बन्ध स्वीकार गर्दै आएका थिए। क्रिकेट र खेलपत्रकार वृतमा दुवैको प्रेम सम्बन्ध नौलो हैन।
सन् २००९ को एसीसी टि-ट्वान्टीमा नेपाली राष्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरेका बिनोद नेपाली टिमका नियमित विकेटकिपर ब्याट्सम्यान हुन्। भण्डारीको गृहनगर महेन्द्रनगर हो। यस्तै गोर्खा स्थायी निवासी अर्याल खेल पत्रकार तथा समाचारवाचिकाको रुपमा काम गर्दै आएकी छिन् जो ग्यालेक्सी टेलिभिजन अघि हिमालय टेलिभिजन र एपीवान टेलिभिजनमा काम गरेकी थिईन्।

