नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक तथा पूर्व अस्ट्रेलियन क्रिकेटर डेभ व्हाटमोर भारतको बरोडा क्रिकेट एसोसिएसनको प्रमुख प्रशिक्षक तथा क्रिकेट निर्देशक नियुक्त भएका छन्।
व्हाटमोरले यसै महिना ओमानमा सम्पन्न आईसीसी विश्वकप लिग-२ अन्तर्गतको नेपाल, ओमान र अमेरिका बीचको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अघि नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकबाट राजिनामा दिएका थिए। त्यसको पछाडी उनले पारिवारिक कारण देखाएका थिए।
व्हाटमोर भारतीय प्रथम श्रेणी क्रिकेट इतिहासकै सबैभन्दा महँगो प्रशिक्षक भएका छन्। उनले भूमिका वापत वार्षिक १ करोड भारतीय रुपैयाँ अर्थात् १ करोड ६० लाख नेपाली रुपैयाँ पाउनेछन्। नेपालको प्रशिक्षकको रुपमा व्हाटमोरले ८ हजार डलर मासिक पाउदै आएका थिए। ६७ वर्षीय व्हाटमोरले आगामी घरेलु सिजनबाट टिम सम्हाल्नेछन्। उनि बरोडा पुगीसकेका छन् र स्थानीय प्रशिक्षकहरुसंग मिटिंग र अभ्यास सुबिधाको निरिक्षण समेत गरिसकेका छन्।
श्रीलंकालाई १९९६ मा एकदिवसीय विश्वकप जिताएका प्रशिक्षक व्हाटमोरको ९ महिने कार्यकालमा नेपालले मात्र एउटा त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिज र एउटा एकदिवसीय अन्तर्राष्ट्रिय भ्रमण गर्यो। टि-२० सिरिजमा नेदरल्याण्ड र मलेसियालाई पराजित गर्दै नेपालले उपाधि जित्दा नेपालको खेल शैलीको निकै तारिफ भएको थियो। ओमान भ्रमणमा नेपाली क्रिकेट टिमले ६ मध्ये ४ जित र २ हार व्यहोर्दा ओमान बिरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जित दर्ता गर्न सफल भएको थियो।
नेपालको ओमान भ्रमण पछि व्हाटमोरले नेपालको प्रशिक्षकको रुपमा अन्तिम अन्तर्वार्तामा नेपालले आईसीसी प्रतियोगिता कुर्नु भन्दा आफैले महत्वपूर्ण खेलहरु आयोजना गर्नुपर्ने सुझाव दिएका थिए। “आईसीसी प्रतियोगिता कुर्नु भन्दा आफैले महत्वपूर्ण खेलहरु आयोजना गर्नुपर्छ। ईपीएल आउंदैछ जुन राम्रो कुरा हो। तर अझै महत्वपूर्ण प्रतियोगिताहरु योजना बनाउनु पर्छ।” उनले बताएका थिए। “नेपालमा अरु घरेलु प्रतियोगिता हुनुपर्छ, जति खेल्यो त्यति राम्रो हुन्छ। मैले थोरै भए पनि क्रिकेट हेर्न पाएँ जहाँ नेपाली खेलाडीहरुले नियमित रुपमा केहि गल्ति गरे ब्याटिंगमा। तर बलिंग र फिल्डिंग गर्दा उनीहरु मनले गर्ने गर्छन। उनीहरु मैदानमा हामफाल्न डराउने गर्दैनन्।”
व्हाटमोरले सन् २०१७/१८ को सिजनमा भारतकै अर्को रन्जी टिम केरलाको प्रशिक्षण सम्हालेका थिए जुन क्रममा केरला पहिलो पटक क्वार्टरफाइनल पुग्न सफल भएको थियो। यस्तै उनले २०१० मा कोलकाता नाइट राइडर्सको प्रशिक्षण सम्हालेका थिए। उनले पाकिस्तान, बंगलादेश र जिम्बाब्वेको प्रशिक्षण गरिसकेका छन् भने भारतीय यु-१९ टिमको समेत प्रशिक्षक रहेका थिए।
