EPL : आजको दुवै खेल टस समेत नभई स्थगित, स्थगित खेल नयाँ मितिमा हुन सक्ने

२०७८ आश्विन ११, सोमबार १६:५८

चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) अन्तर्गत तेश्रो दिन सोमबारको दुई वटै खेल टस समेत हुन नपाई स्थगित भएको छ।

विहान ९:३० बजे सुरु हुनु पर्ने काठमाडौँ किंग्स-११ र बिराटनगर वारियर्स बीचको तथा त्यसपछि १:३० बजे सुरु हुनु पर्ने चितवन टाइगर्स र भैरहवा ग्ल्याडीएटर्स बीचको खेल स्थगित भएको हो। खेल स्थगित हुँदा विश्वचर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीको लिगमा अन्तिम खेल हेर्ने चाहना पुरा हुन पाएन।

गय रातिको भारि वर्षाका कारण मैदानमा पनि जमेपछि खेल ढिला सुरु हुने निश्चित थियो। ११:३० बजे सम्म बलरले रन अप लिने ठाउँसम्म टेक्दा पानि निस्कने स्थिति थियो। त्यसपछि रनअपको भाग सुकेता पनि मैदानको चोभार इन्डतर्फको भागमा दलदल कायमै रहेपछि पहिलो खेल स्थगित गरिएको थियो। त्यसपछि दोश्रो खेल पनि सोहि अवस्थाका कारण ढिला सुरु हुने अवस्था थियो। तर पुनः मैदानमा वर्षा सुरु भएपछि दोश्रो खेल पनि स्थगित गर्नु परेको हो।

चर्को घाम लागेको अवस्थामा यस अघि टियु मैदानमा खेल सुचारु हुने अवस्था हुन्थ्यो तर यो पटक भने पानि छिटो नसोसीएपछि खेल नहुने अवस्था हो। पानि छिटो नसोसीनुको प्रमुख मैदानलाई राम्रो देखाउन घाँस फेदसम्म काटिनु हो। फेदसम्म घाँस काट्दा मैदान राम्रो देखिएता पनि त्यसले पानि भने राम्रो सोस्न सकेन। घाँस बाँकी रहेको ठाउँले पानि सोसेको छ भने ‘जिरो लेभल’ सम्म काटीएको स्थानमा पानि राम्रोसंग सोसीएको छैन।

अब के हुन्छ ? आइतबारको भैरहवा ग्ल्याडीएटर्स र पोखरा राइनोज बीचको खेल पनि वर्षाका कारण बीचमा रोकिन पुग्दा दुवै टिमले एक/एक अंक बाँडेका थिए। तर आजको दुवै खेल नभएता पनि हालसम्म अंक भने बाँडीएको छैन। लिगको खेल तालिकामा एक मात्र खेल भएको दिनमा आज नभएको दुई वटा खेल राख्न आयोजकले प्रयास गरिरहेको छ। सम्पूर्ण टिमहरु सहमत भएको खण्डमा खेलहरु अर्को दिन खेल्न सकिनेछ। यस बारे आयोजक टिमहरुसंग छलफल गरिरहेको छ र सोमबार रातीसम्म निर्णय आउने बताईएको छ।

मैदानको अवस्था यही रहेको खण्ड लिग अन्तर्गत मंगलबार खेलिने काठमाडौँ किंग्स-११ र पोखरा राइनोज बीचको १२:१५ बजे दिउसो सुरु हुने भनिएको खेल पनि नहुने सम्भावना रहेको छ। किनकि आज पनि मैदानमा वर्षा भएको छ भने राति पनि वर्षा निरन्तर हुने सम्भावना छ।

लिगअन्तर्गत हालसम्म दुई वटा खेल मात्र पुरा हुन पाएको छ। शनिवार उद्घाटन खेलमा काठमाण्डौ किंग्स-११ विजयी भएको थियो भने आइतबार चितवन टाइगर्सले पहिलो खेल जित्दा दोश्रो खेलमा भैरहवा र पोखरा राइनोजले एक-एक अंक बाँडेका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy