एभरेस्ट प्रिमियर लिग टि-२० अन्तर्गत बिहिबारको पहिलो खेलमा सोमपाल कामि कप्तानीको चितवन टाइगर्सले सन्दिप लामिछाने कप्तानीको काठमाडौँ किंग्स-११ लाई ३ विकेटले पराजित गरेको छ। पहिलो खेलमा बिराटनगर वारियर्सलाई पराजित गरेको चितवनको यो दोश्रो जित हो।
टियु अन्तर्राष्ट्रिय मैदानमा सम्पन्न खेलमा काठमाडौँ किंग्स-११ ले दिएको १४२ रनको लक्ष्य ७ विकेट गुमाएर १८.४ ओभरमा भेटायो। उसको लागि राजेश पुलामीले सर्वाधिक अविजित २६ रन, कमल ऐरी र दिलिप नाथले समान २३ न, मोहम्मद शहजादले १७ रन बनाए।
लक्ष्य पछ्याउने क्रममा पावरप्लेको ६ ओभरमा चितवनले ३ विकेट क्षेतीमा ६४ रन बनाएको थियो। तर त्यसक्रममा इशान पाण्डे, मोहम्मद शहजाद र करिम जनत आउट हुन पुगे। त्यसपछि रन दिन कन्जुसी गर्दै काठमाडौँले खेलमा दबाब बनायो। रायन बर्लले किफायती बलिंग गर्दै भिम शार्की र सेक्कुगे प्रशन्नाको विकेट लिए । त्यसपछि केहि आक्रामक सट खेलेका दिलिप नाथलाई गुल्सन झाले क्याच आउट गरे।
९५ रनको योगफलमा चितवनले ७ विकेट गुमाउन पुग्यो जसपछि राजेश पुलामी र कमल सिंह ऐरीले विकेट दिएनन्। पुलामीले एक किनार सम्हाले भने ऐरीले आक्रामक सट खेले। इनिंग्सको १८ औं ओभरमा जनक प्रकाशलाई लगातार २ छक्का प्रहार गर्दै ऐरीले दबाब कम गरे जसपछि ८ बल बाँकी रहँदै चितवनको जित सम्भव रह्यो। दुवैले आठौँ विकेटको लागि ४७ रनको उत्कृस्ट साझेदारी गरे।
काठमाडौँ किंग्स-११ को बलिंगमा जितेन्द्र मुखिया ( ३.४-०-२९-२ ) र रायन बर्लले ( ४-०-१३-२ ) ले २ विकेट लिए। जनक प्रकाश, सन्दिप लामिछाने र गुल्सन झाले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १४१ रन बनाएको थियो। काठमाडौँको लागि सुबाश खकुरेलले सर्वाधिक ३५ रन, राजु रिजालले २८ रन तथा जनक प्रकाशले २६ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
ओपनर रहमनुल्लाह गुर्बज ५ रन तथा अमित श्रेष्ठ ६ रन बनाएर आउट भएपछि अर्का ओपनर सुबास खकुरेलले राजु रिजालसंग तेश्रो विकेटको लागि ३७ रनको साझेदारी गरे। तर त्यसपछि काठमाडौँले लगातार विकेट गुमाउन पुग्यो। राजु रिजाल दशौँ ओभरमा करिमजनतबाट बोल्ड भए पछि देब्रे हाते स्पिनर सागर ढकालले रायन बर्ल, सुबास खकुरेल र गुल्सन झाको विकेट लिंदै चितवनलाई हावी गरे। त्यसपछि जनक प्रकाशले गुल्सन झासंग १८ तथा अमर सिंह रौटेलासंग २० रनको साझेदारी गरे। सागर ढकालले रौटेला र १८ औं ओभरमा करिम जनतले जना प्रकाशको विकेट लिए। अन्तिम ५ ओभरमा काठमाडौँले ३२ रन मात्र बनाउन सक्यो।
चितवनको बलिंगमा देब्रे हाते स्पिनर सागर ढकालले सर्वाधिक४ विकेट लिए जुन क्रममा ४ओभरमा २१ रन खर्चिए। करिम जनतले २ विकेट ( ४-०-१८-२ ) लिए भने कमल सिंह ऐरी ( ४-०-३८-१ ) र सेक्कुगे प्रशन्ना ( ३-०-२०-१ ) ले समान १ विकेट लिए।
