एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) अन्तर्गत बिहिबारको दोश्रो खेलमा ललितपुर पेट्रिएट्स र भैरहवा ग्ल्याडीएटर्स प्रतिस्पर्धा गरिरहेका छन्। दिनको पहिलो खेलमा चितवन टाइगर्सले काठमाडौँ किंग्स-११ लाई ३ विकेटले पराजित गर्यो।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिंग गरेको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १७७ रन बनाउदै भैरहवा ग्ल्याडीएटर्सलाई १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ। जारि सिजन लिगको यो सर्वाधिक टिम योगफल हो।
ललितपुरको लागि श्रीलंकन ब्याट्सम्यान सन्दुन विराक्कोडीले सर्वाधिक ५८ रन बनाए जुन क्रममा ४१ बलमा २ चौका र ५ छक्का प्रहार गरे। यस्तै अज्मतुल्लाह ओमरजाईले २२ बलमा २ चौका र ४ छक्का मद्दतले ४२ रन, सन्दिप जोराले २५ बलमा २ चौका र २ छक्का मद्दतले ३८ रन बनाए। ओशाडा फर्नान्डोले २० रन बनाए। कुशल भुर्तेलले २ तथा पव सर्राफले १ रन मात्र बनाउन सके।
कप्तान कुशल भुर्तेल मात्र २ रन बनाएर रन आउट भएपछि दोश्रो विकेटको लागि विराक्कोडीले ओशाडा फर्नान्डोसंग ६६ रनको साझेदारी गरे। फर्नान्डोलाई दशौँ ओभरमा कृष्ण कार्कीले बोल्ड गरे भने अर्धशतक पुरा गरेपछि विराक्कोडी आरिफ शेखबाट १३ औं ओभरमा क्याच आउट भए। चौंथो विकेटको लागि सन्दिप जोरा र अज्मतुल्लाह ओमरजाईले ४५ रन जोडे। १७ औं ओभरमा जोरा रोहित पौडेलबाट रन आउट हुन पुगे। त्यसपछि ओमरजाईले आक्रामक ब्याटिंग गरे जुन क्रममा अविनाश बोहराले गरेको १८ औं ओभरमा ३ छक्का प्रहार गरे। उनि अन्तिम ओभरमा अविनाश बोहराबाट क्याच आउट भए।
भैरहवाको बलिंगमा अविनाश बोहराले २ विकेट ( ४-०-४७-२ ) लिए भने आरिफ शेख ( १-०-७-१ ), धम्मिका प्रसाद ९ ४-०-३०-१ ) र कृष्ण कार्की ( ४-०-३४-१ ) ले १ विकेट लिए। दुर्गेश गुप्त किफायती सावित भएता पनि ( ४-०-२२-० ) विकेट विहिन रहे।
लिग अन्तर्गत भैरहवाले पहिलो खेलमा पोखरा राइनोजसंग वर्षाले खेल प्रभावित हुँदा अंक बाँडेको थियो भने दोश्रो खेलमा बिराटनगर वारियर्सलाई पराजित गरेको थियो। ललितपुर पहिलो खेलमा काठमाडौँ किंग्स-११ संग तथा दोश्रो खेलमा पोखरा राइनोजसंग पराजित भइसकेको छ।
