एभरेस्ट प्रिमियर लिग टि-ट्वान्टी ( ईपीएल टि-२० ) अन्तर्गत बिहिबार सम्पन्न भैरहवा ग्ल्याडीएटर्स र ललितपुर पेट्रिएट्स बीचको खेल बराबरीमा टुंगियो। ललितपुर पेट्रिएट्सले पहिले ब्याटिंग गर्दै बनाएको १७७ रनको जवाफमा ब्याटिंग गरेको भैरहवाले पनि पुरै २० ओभर ब्याटिंग गर्दै १७७ रननै बनायो। खेल सुपर ओभरमा जानुको सट्टा बराबरी घोषित गर्दै दुवै टिमलाई एक/एक अंक प्रदान गरियो।
स्कोर बराबरी भएपछि सबैले खेल सुपर ओभरमा जाने सोचेका थिए। कमेन्टेटरले समेत खेल सुपर ओभरमा जाने बताएका थिए। टेलिभिजन स्क्रिनमा समेत स्कोर बराबरी भएको र खेल अब सुपर ओभरमा जाने लेखिएको थियो। तर केहि बेरमा दुवै टिमका खेलाडीहरु र अम्पायरहरु एकापसमा हात मिलाउदै गरेको देखिए। खेल सुपर ओभरमा नगई दुवै टिमले बराबरी ( टाई ) भएपछि एक/एक अंकमा चित्त बुझाए। सुपर ओभरमा खेल नगएपछि धेरैले खेल सुपर ओभरमा किन गएन भनेर कौतुहलता देखाएका छन् जसको कारण प्रस्तुत गरेका छौँ।
खेल सुपर ओभरमा नजानुको कारण खेल्नको लागि पर्याप्त प्रकाश नहुनु भने कारण हैन। सुपर ओभरमा नजानुको कारण खेल सकिनु पर्ने अवधि ३ घण्टा ३० मिनेट भन्दा बढी खेल भैसक्नु हो। टि-२० अन्तर्राष्ट्रिय क्रिकेट र ईपीएलको प्लेयिंग कन्डिसन अनुसार ३ घण्टा ३० मिनेट भन्दा बढी खेल भएको खण्डमा स्कोर बराबरी भए खेल बराबरी घोषित गर्दै अंक बाँडीनेछ। भैरहवा र ललितपुर बीचको खेल निर्धारित समय भन्दा ढिला दिउँसो १ बजेर ४५ मिनेटमा खेल सुरु भएको थियो। दोश्रो इनिंग्समा शरदले छक्का हानेर बराबरी गर्दा समय बेलुका ५ बजेर ३८ मिनेट भैसकेको थियो। अर्थात् ३ घण्टा ५३ मिनेटको खेल भइसकेको थियो। यदी कुल ३ घण्टा ३० मिनेट भन्दा अगाडी अर्थात् ५ बजेर १५ मिनेट भन्दा अघि खेल समाप्त भएको भए खेल सुपर ओभरमा जान्थ्यो।
३ घण्टा ३० मिनेटमै खेल सकिएको खण्डमा पनि यदी मैदानमा खेल हुन पर्याप्त प्रकाश नभएको भए त्यो परिस्थितिमा पनि सुपर ओभरमा खेल जाने थिएन। तर आजको खेलमा खेल सकिनु पर्ने अन्तिम समय ( कटअफ टाईम ) अर्थात् ३ घण्टा ३० मिनेट भन्दा बढी खेल भैसक्नु सुपर ओभरमा खेल नजानुको कारण हो। त्यसैले खेल बराबरी घोषणा गर्दै दुवैले एक/एक अंक पाएका हुन्।
खेलमा जित हात पारेपछि भैरहवा ३ खेलमा १ जित, १ बराबरी र १ नतिजाविहिन खेलपछि ४ अंक सहित अंकतालिकाको शिर्ष स्थानमा पुगेको छ। ललितपुर ३ खेलमा २ हार र १ बराबरी पछि १ अंक सहित पाँचौ स्थानमा छ। अंकतालिका
