IPL : चेन्नाई प्लेअफमा हैदरावादको ढोका बन्द

२०७८ आश्विन १४, बिहीबार २३:२३

सनराइजर्स हैदरावादलाई विकेटले पराजित गर्दै चेन्नाई सुपर किंग्स १८ अंक सहित आईपीएल अंकतालिकाको शिर्ष स्थानमा कायमै रहँदै प्लेअफमा छनोट भएको छ। आईपीएल इतिहासमा चेन्नाई १२ संस्करणमा ११ पटक प्लेअफ पुग्न सफल भएको हो। हारपछि हैदरावाद भने अधिकारिक रुपमै प्लेअफ रेसबाट बाहिर भएको छ। हैदरावाद प्लेअफ रेसबाट बाहिर हुने पहिलो टिम हो।

युएईको शारजाह स्थित शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा हैदरावादले दिएको १३५ रनको लक्ष्य चेन्नाईले ४ विकेट क्षेतीमा २ बल बाँकि रहंदा भेटायो। चेन्नाईको लागि रुतुराज गायकवाडले २९ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ४५ रन बनाए। यस्तै फाफ डु प्लेसिसले ३६ बलमा ३ चौका र २ छक्का मद्दतले ४१ रन बनाए। मोइन अलि र अम्बाती रायडुले समान १७ रन तथा महेन्द्र सिंह धोनीले १४ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा चेन्नाई ओपनर रुतुराज गायकवाड र फाफ डु प्लेसीले ७५ रनको साझेदारी गरे। आईपीएलको एकै सिजन चेन्नाईको लागि एकै जोडीले साझेदारीको रुपमा ५९१ रन बनाउदै गायकवाड र डु प्लेसीले नयाँ कीर्तिमान बनाएका छन्। यस अघि २०१३ को सिजनमा सुरेश रैना र माइक हस्सीले साझेदारी गर्दै कुल ५८७ रन बनाएका थिए जुन रेकर्ड टुटेको हो।

एघारौं ओभरमा गायकवाड आउट भएपछि डु प्लेसीले मोइन अलिसंग २८ रनको साझेदारी गरे। १५ औं ओभरमा राशिद खानले अलिलाई तथा लगत्तै ओभरमा जेसन होल्डरले सुरेश रैना र डु प्लेसीको विकेट लिंदै हैदरावादलाई खेलमा फर्काए। उक्त ओभरमा होल्डरले २ विकेट लिंदा मात्र ४ रन खर्चिए। लगत्तै ओभरमा भुवनेश्वर कुमारले मात्र ४ रन खर्चंदा चेन्नाईलाई अन्तिम १८ बलमा २२ रन आवस्यक रह्यो। त्यसपछि अम्बाती रायडु र महेन्द्र सिंह धोनीले पाँचौ विकेटको लागि ३१ रनको साझेदारी गर्दै जित दिलाए।

हैदरावादको बलिंगमा जेसन होल्डरले सर्वाधिक ३ विकेट ( ४-०-२७-३ ) लिए भने राशिद खानले १ विकेट ( ४-०-२७-१ ) लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको हैदरावादले २० ओभरमा ७ विकेट क्षेतीमा १३४ रन बनाएको थियो।  हैदरावादको लागि ओपनर रिद्दिमान शाहले सर्वाधिक ४४ रन बनाए जुन क्रममा ४६ बलमा १ चौका र १ छक्का प्रहार गरे। अभिषेक शर्मा र अब्दुल समदले समान १८ रन, राशिद खानले अविजित १७ रन तथा कप्तान केन विलियमसनले ११ रन योगदान दिए।

चेन्नाई बलर जोश हेजलवुडले सर्वाधिक ३ विकेट ( ४-०-२४-३ ) लिए भने ड्वेन ब्राभोले २ विकेट ( ५-०-१७-२ ) तथा शार्दुल ठाकुर र रभीन्द्र जडेजाले समान १ विकेट लिए।

११ खेलमा ९ जित र २ हार बेहोरेको चेन्नाई १८ अंक सहित अंकतालिकाको शिर्षस्थानमा यथावत छ। हार पछि ११ खेलमा २ जित र ९ हार बेहोरेको हैदरावाद ४ अंक सहित आठौँ स्थानमा यथावत छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy