एभरेस्ट प्रिमियर लिग टि-२० अन्तर्गत शुक्रबारको दोश्रो खेलमा चितवन टाइगर्सले पोखरा राइनोजलाई पराजित गर्दै लिग अंकतालिकाको शिर्ष स्थानमा पुगेको छ भने प्लेअफमा स्थान समेत बनाउने समेत पहिलो टिम बनेको छ। दिनको पहिलो खेलमा ललितपुर पेट्रिएट्सले बिराटनगर वारियर्सलाई पराजित गर्यो।
टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा सम्पन्न खेलमा पोखरा राइनोजले दिएको १२४ रनको लक्ष्य चितवन टाइगर्सले १६.४ ओभरमा मात्र १ विकेट क्षेतीमा पुरा गर्यो। चितवनको लागि अफगानिस्तान ब्याट्सम्यान मोहम्मद शहजादले सर्वाधिक ६३ तथा भिम शार्कीले ५३ रन बनाए। शहजादले ५२ बलमा ७ चौका र २ छक्का तथा शार्कीले ४२ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
लक्ष्य पछ्याउने क्रममा ओपनर इशान पाण्डे खाता नखोली आउट भएपछि दोश्रो विकेटको लागि शहजाद र भिम शार्कीले दोश्रो विकेटको लागि अविजित १२२ रनको साझेदारी गर्दै जितसम्म पुर्याए।
यस अघि टस जितेर ब्याटिंग गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १२३ रन बनाएको थियो। उसको लागि विवेक यादवले सर्वाधिक ५३ रन बनाए जुन क्रममा अविजित रहेका उनले ४५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। यस्तै असेला गुनरत्नेले २५ तथा रिचर्ड लेभीले २० रन बनाए।
खराब सुरुवात गरेको पोखराले पहिलो ५ विकेट ४२ रन बनाउदा गुमाएको थियो। त्यस मध्ये ३ विकेट पावरप्लेको ओभरमा गुमायो। त्यसपछि छैठौं विकेटको लागि विवेकले गुनरत्नेसंग ५६ रनको साझेदारी गर्दै योगफल सय नजिक पुर्याए। गुनरत्ने आउट भएपछि यादवले अन्तिमसम्म ब्याटिंग गरे।
चितवनको बलिंगमा कमल सिंह ऐरी ( ४-०-४०-२ ) र शाहब आलमले ( ४-०-१७-२ ) समान २ विकेट तथा सोमपाल कामिले १ विकेट ( ४-१-१२-१ ) लिए।
जितपछि चितवन लिग अंक तालिकामा ३ खेलमा ३ जित पछि ६ अंकको साथ शिर्ष स्थानमा पुगेको छ। हारपछि पोखरा चौंथो स्थानमा पुगेको छ जसको ३ अंक रहेको छ। भैरहवा ४ अंक सहित दोश्रो तथा ललितपुर ३ अंक सहित तेश्रो स्थानमा रहेको छ।

