प्रतिस्पर्धात्मक खेलमा चेन्नाई सुपर किंग्सलाई ३ विकेटले पराजित गर्दै दिल्ली क्यापीटल्स इन्डियन प्रिमियर लिग अंकतालिकाको शिर्ष स्थानमा प्रवेश गरेको छ।
युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न खेलमा चेन्नाईले दिएको १३७ रनको लक्ष्य दिल्लीले मात्र २ बल बाँकी रहंदा भेटायो। जितको लागि अन्तिम ओभरमा ६ रन आवस्यक हुँदा ओभरको पहिलो २ बलमा ४ रन दिएका ब्राभोले तेश्रो बलमा अक्षर पटेलको विकेट लिंदै खेलमा रोमान्चकता ल्याएका थिए। तर लगत्तै बलमा कागीसो रबाडाले चौका प्रहार गर्दै जित दिलाए।
दिल्लीको ब्याटिंगमा शिखर धवनले सर्वाधिक ३९, शिमरन हेटमायरले अविजित २८, रिपल पटेल र पृथ्वी शले समान १८ रन तथा रिशभ पन्तले १५ रन योगदान दिए। ९९ रनमा ६ विकेट गुमाएको अवस्थामा हेटमायारले अक्षर पटेलसंग ३६ रनको साझेदारी गर्दै जिततर्फ डोर्याएका थिए।
चेन्नाईको बलिंगमा रभीन्द्र जडेजा ( ४-०-२८-२ ) र शार्दुल ठाकुर ( ४-०-१३-२ ) ले समान २ विकेट तथा दिपक चाहर, जोश हेजलवुड र ड्वेन ब्राभोले समान १ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको चेन्नाईले निर्धारित २० ओभरमा ५ विकेट क्षेतीमा १३६ रन बनाएको थियो। ६२ रनमा ४ विकेट गुमाएको अवस्थामा अम्बाती रायडु र कप्तान महेन्द्र सिंह धोनीले ६० रनको साझेदारी गर्दै इनिंग्स उकासेका थिए। रायडुले सर्वाधिक ५५ रन बनाए जुन क्रममा ४३ बलमा ५ चौका र २ छक्का प्रहार गरे। यस्तै रोबिन उथप्पाले १९, महेन्द्र सिंह धोनीले १८, रुतुराज गायकवाडले १३ तथा फाफ डु प्लेसिसले १० रन योगदान दिए। दिल्लीको बलिंगमा अक्षर पटेलले २ ( ४-०-१८-२ ) तथा एनरिक् नोर्किया, आभेस खान र रभीचन्द्रन आश्विनले समान १ विकेट लिए।
१३ खेलमा दशौँ जितपछि २० अंक सहित दिल्ली अंकतालिकाको शिर्ष स्थानमा प्रवेश गरेको छ। समान खेलमा चौंथो हार पचिया चेन्नाई दोश्रो स्थानमा रहेको छ। दुवै टिमले अब समान एक खेल खेल्न बाँकी छ। दिल्ली, चेन्नाई र बैंगलोरले हालसम्म प्लेअफमा स्थान बनाईसकेका छन् भने अर्को एउटा टिमको टुंगो लागेको छैन। लिग अन्तर्गत मंगलबार राजस्थान रोयल्स र मुम्बई इन्डीएन्स बीच खेल हुँदैछ।

