श्रीलंकाको ओमान भ्रमण अन्तर्गत दुई खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पहिलो खेलमा श्रीलंका १९ रनले विजयी भएको छ।
अल अमिरात मैदानमा बिहिबार बेलुका सम्पन्न खेलमा श्रीलंकाले दिएको १६३ रनको लक्ष्य पछ्याएको ओमानले पुरै २० ओभर ब्याटिंग गर्दै ८ विकेट क्षेतीमा १४३ रन मात्र बनाउन सक्यो।
लक्ष्य पछ्याउने क्रममा ओमानले पहिलो ४ विकेट २३ रनको योगफलमा गुमाएको थियो। त्यसपछि पाँचौ नम्बरमा ब्याटिंग गरेका मोहम्मद नदीमले एक किनार सम्हाल्दै आयान खानसंग ३१ रनको, सन्दिप गौडसंग ३३ रनको तथा मोहम्मद नदीमसंग ४७ रनको साझेदारी गरे। अन्तिममा नसिम खुसिले आक्रामक ब्याटिंग गरेता पनि जितको लागि पर्याप्त रहेन। खुसिले २२ बलमा २ चौका र ४ छक्का मद्दतले ४० रन, मोहम्मद नदीमले ३२, आयान खानले २३ तथा सन्दिप गौडले १७ रन बनाए। श्रीलंकाको बलिंगमा लाहिरु कुमाराले सर्वाधिक ४ विकेट ( ४-०-३०-४ ) लिए भने नुवान प्रदिप र चमिका करुनारत्नेले समान २ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा १६२ रन बनाएको थियो। खराब सुरुवात गरेको श्रीलंकाले ५१ रन बनाउदा पहिलो ४ विकेट गुमाएको थियो। त्यसपछि अभिस्का फर्नान्डोले पाँचौ विकेटको लागि कप्तान दासुन शनाकासंग अविजित १११ रनको साझेदारी गरे। फर्नान्डोले अविजित ८३ रन बनाए जुन क्रममा ५९ बलमा ३ चौका र ५ छक्का प्रहार गरे भने शनाकाले २४ बलमा २ चौका र ५ छक्का मद्दतले ५१ रन बनाए।ओमानको बलिंगमा फयाज बटले २ विकेट ( ४-०-४२-२ ) तथा कलेमुल्लाह र खवर अलिले समान १ विकेट लिए।
सिरिज अन्तर्गत दोश्रो तथा अन्तिम खेल अक्टोबर ९ तारिखमा खेल्ने तालिका रहेको छ। ओमान र युएईले संयुक्त रुपमा आयोजना गर्ने टि-२० विश्वकप २०२१ अक्टोबर १७ तारिख देखि सुरु हुँदैछ। पहिलो चरणमा ओमान समुह ‘बि’मा बंगलादेश, पपुवा न्यु गिनी र स्कटल्याण्डसंग रहेको छ भने श्रीलंका समुह ए”मा आयरल्याण्ड, नामिबिया र नेदरल्याण्डसंग रहेको छ। समुह चरणमा शिर्ष-२ स्थानमा रहने टोलि सुपर-१२ चरण खेल्न छनोट हुनेछ।
