IPL : दबाबमा धोनीको आक्रामक ब्याटिंग, चेन्नाई नवौं पटक फाइनलमा

२०७८ आश्विन २४, आईतवार २३:३८

रोमान्चक खेलमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै चेन्नाई सुपर किंग्स आईपीएलको फाइनल प्रवेश गरेको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १७३ रनको लक्ष्य चेन्नाईले २ बल बाँकी रहंदा ६ विकेट गुमाएर भेटायो। चेन्नाई नवौं पटक आईपीएलको फाइनल पुगेको हो। आईपीएलको क्वालीफायरमा दिल्ली र चेन्नाई बीच यो तेश्रो भेट थियो जसमा तिन पटकनै चेन्नाई विजयी भएको छ। २०१२ र २०१९ मा चेन्नाई ८६ रन र ६ विकेटले विजयी भएको थियो।

लक्ष्य पछ्याउने क्रममा चेन्नाई ओपनर फाफ डु प्लेसी पहिलो ओभरमा आउट भएपछि दोश्रो विकेटको लागि रुतुराज गायकवाड र रोबिन उथप्पाले ११० रनको साझेदारी गरे। तर १४ औं ओभरमा उथप्पा तथा खाता नखोल्दै टम करनबाट क्याच आउट भए। लगत्तै ओभरमा अम्बाती रायडु रन आउट हुँदा चेन्नाई दबाबमा आयो। गायकवाडले पाँचौ विकेटको लागि मोईन अलिसंग ३० रनको साझेदारी गरे।

अन्तिम २ ओभरमा जित्न २४ रन आवस्यक हुँदा १९ औं ओभरको पहिलो बलमा गायकवाडलाई आभेस खानले क्याच आउट गराए। लगत्तै बलमा मोईन अलिले चौका प्रहार गरे भने ओभरको पाँचौ बलमा कप्तान महेन्द्र सिंह धोनीले छक्का प्रहार गरे। अन्तिम ओभरमा जित्न १३ रन आवस्यक हुँदा पहिलो बलमै टम करनले मोईन अलिलाई क्याच आउट गराए। त्यसपछि लगत्तै २ बलमा धोनीले लगातार दुई चौका प्रहार गरे। त्यसपछि करनले वाइड बल गरे भने ३ बलमा जित्न ४ रन आवस्यक रहंदा धोनीले पुनः चौका प्रहार गर्दै जित दिलाए।

धोनीले मात्र ६ बलमा ३ चौका र १ छक्का मद्दतले अविजित १८ रन बनाए। रुतुराज गायकवाडले ५० बलमा ५ चौका र २ छक्का मद्दतले ७० रन तथा रोबिन उथप्पाले ४४ बलमा ७ चौका र २ छक्का मद्दतले ६३ रन बनाए। मोईन अलिले १६ रन बनाए। दिल्लीको बलिंगमा टम करनले ३ विकेट ( ३.४-०-२९-३ ) तथा एनरिक् नोर्किया र आभेस खानले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट क्षेतीमा १७२ रन बनाएको थियो।

दिल्लीको ब्याटिंगमा ओपनर पृथ्वी शले सर्वाधिक ६० रन बनाए जुन क्रममा ३४ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। यस्तै कप्तान रिशभ पत्नले ५१ रन बनाउने क्रममा अविजित रहँदै ३५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। शिमरन हेटमायरले ३७ तथा अक्षर पटेलले १० रन बनाए। शिखर धवन ७ तथा श्रेयस ऐयर १ रन बनाएर आउट भए। ८० रनको योगफलमा ४ विकेट गुमाएको अवस्थामा पन्त र हेटमायरले ८३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

चेन्नाईको बलिंगमा जोश हेजलवुडले २ ( ४-०-२९-२ ) तथा रभीन्द्र जडेजा ( ३-०-२३-१ ) , मोईन अलि ( ४-०-२७-१ ) र ड्वेन ब्राभोले ( ३-०-३०-१ ) समान १ विकेट लिए।

लिग अन्तर्गत भोलि सोमबार इलिमीनेटरमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्सले प्रतिस्पर्धा गर्नेछन्। उक्त खेलको विजेतासंग दिल्लीले फाइनल प्रवेशको लागि दोश्रो क्वालीफायरमा बुधबार प्रतिस्पर्धा गर्नेछ। लिगको फाइनल अक्टोबर १५ तारिखमा युएईमा खेलिनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy