T20 WC : बंगलादेश स्तब्ध ! स्कटल्याण्डको ऐतिहासिक जित

२०७८ आश्विन ३१, आईतवार २३:३६

युएई र ओमानमा संयुक्त रुपमा आयोजित सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप अन्तर्गत पहिलो दिन आइतबार दोश्रो खेलमा एसोसिएट राष्ट्र स्कटल्याण्डले टेस्ट राष्ट्र बंगलादेशलाई ६ रनले स्तब्ध पार्दै विजयी सुरुवात गरेको छ। दिनको पहिलो खेलमा समुह ‘बि’ अन्तर्गतकै अर्को खेलमा आयोजक ओमानले पपुवा न्यु गिनीलाई १० विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।

ओमान स्थित अल अमिरात मैदानमा सम्पन्न खेलमा स्कटल्याण्डले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले पुरै २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट क्षेतीमा १३४ रन मात्र बनाउन सक्यो। बंगलादेश बिरुद्ध स्कटल्याण्डको यो इतिहासकै पहिलो जित हो। बंगलादेशको ब्याटिंगमा मुश्फिकुर रहिमले सर्वाधिक ३८ रन, शाकीब अल हसनले २० तथा अफिफ होसेनले १८ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा बंगलादेश ओपनर लिटन दास र सौम्य सरकार छिटै पेभेलियन फर्किए। पहिलो ८ ओभरमा बंगलादेशले २ विकेट क्षेतीमा ३४ रन बनाउदै सुस्त सुरुवात गर्यो। तेश्रो विकेटको लागि शाकिब अल हसन र मुश्फीकुर रहिमले ४७ रन जोडे। बाह्रौं ओभरमा हसनलाई क्रिस ग्रिभ्सले क्याच आउट गरे। चौधौं ओभरमा रहिमलाई पनि ग्रिभ्सले बोल्ड गर्दै स्कटल्याण्डलाई हावी गराए।

कप्तान महमुदुल्लाहले पाँचौ विकेटको लागि अफिफ होसेनसंग ३२ रन जोडे। अठारौं ओभरमा होसेनलाई मार्क वाटले क्याच आउट गरे। अन्तिम २ ओभरमा बंगलादेशलाई जित्न ३२ रन आवस्यक रह्यो। उन्नाइसौं ओभरको दोश्रो बलमा नुरुल हसनलाई ब्राडले व्हिलले क्याच आउट गरे। लगत्तै बलमा छक्का प्रहार गरेपछि महमुमुल्लाह पनि पाँचौ बलमा क्याच आउट भए। ओभरमा व्हिलले ८ रन खर्चेर २ विकेट लिंदा अन्तिम ओभरमा २५ रन आवस्यक रह्यो। अन्तिम ओभरमा सफ्यान सरिफको ओभरमा चौंथो र पाँचौ बलमा मेहदी हसनले छक्का र चौका प्रहार गरेता पनि जित्न पर्याप्त भएन। ओभरमा १७ रन बनेता पनि बंगलादेश ६ रनले पराजित हुन पुग्यो।

स्कटल्याण्डको बलिंगमा दायाँ हाते पेसर ब्राडलि व्हिलले सर्वाधिक ३ विकेट ( ४-०-२४-३ ), क्रिस ग्रिभ्सले २ विकेट ( ३-०-१९-२ ) लिए। जोश डेभे र मार्क वाटले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १४० रन बनाएको थियो। स्कटल्याण्डको लागि क्रिस ग्रिभ्सली सर्वाधिक ४५ रन बनाए भने जर्ज मुन्सेले २९ तथा मार्क वाटले २२ रन बनाए। ५३ रनमा ६ विकेट गुमाएको अवस्थामा सातौँ विकेटको लागि ग्रिभ्सले वाटसंग ५१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

बंगलादेशको बलिंगमा मेहदी हसनले ३ विकेट ( ४-०-१९-३ ) तथा मुस्तफिजुर रहमान ( ४-१-३२-२ ) र शाकिब अल हसन ( ४-०-१७-२ ) ले समान २ विकेट लिए। तास्किन एहमद अर मोहम्मद सैफुद्दीनले समान १ विकेट लिए।

समुह ‘बि’ अन्तर्गत बंगलादेश र स्कटल्याण्ड पछि ओमान र पपुवा न्यु गिनी एक साथ रहेका छन्। समुह चरणमा एक अर्का बीच एक/एक खेल खेलेपछि समुहको उत्कृस्ट दुई टोलि सुपर-१२ चरण प्रवेश गर्नेछन्। समुह चरण अन्तर्गत समुह ‘ए’ मा नेदरल्याण्ड, श्रीलंका, आयरल्याण्ड र नामिबिया रहेका छन्। सुपर-१२ चरणमा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रीका र वेस्टइन्डिज रहेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy