दायाँ हाते फास्ट बलर कर्टिस क्याम्फरले ह्याट्रिक सहित लगातार ४ बलमा ४ विकेट लिंदै इतिहाँस बनाउदा युएई र ओमानमा संयुक्त रुपमा जारी टि-ट्वान्टी विश्वकपमा आयरल्याण्डले नेदरल्याण्ड बिरुद्ध ७ विकेटको विजयी सुरुवात गरेको छ।
युएईको अबु धाबी स्थित शेख जायद स्टेडियममा सम्पन्न प्रतियोगिताको तेश्रो तथा समुह ‘ए’ अन्तर्गत पहिलो खेलमा नेदरल्याण्डले दिएको १०७ रनको लक्ष्य आयरल्याण्डले ३ विकेट गुमाएर १५.१ ओभरमै भेटायो।
लक्ष्य पछ्याउने क्रममा ३६ रनमा २ विकेट गुमाएको अवस्थामा आयरल्याण्ड ओपनर पल स्टरलिंग र गेराथ डेलानिले ५९ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। डेलानिलेले २९ बलमा ५ चौका र २ छक्का मद्दतले ४४ रन बनाए भने स्टरलिंगले अविजित ३० रन बनाए। नेदरल्याण्ड बलर फ्रेड क्लासेन, ब्रान्डन ग्लोभर र पिटर सिलरले समान १ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको नेदरल्याण्डले २० ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको थियो। उसको लागि ओपनर म्याक्स ओ डोडले सर्वाधिक ५१, कप्तान पिटर सिलारले २१ तथा कोलिन एंकरम्यान र भान बिकले समान ११ रन बनाए। आयरल्याण्डको बलिंगमा कर्टिस क्याम्फरले सर्वाधिक ४ विकेट ( ४-०-२६-१ ) लिए भने मार्क अडेरले ३ ( ४-०-९-३ ) तथा जोशुवा लिटलले १ विकेट लिए।
नेदरल्याण्डले ५१ रनमा २ विकेट गुएको अवस्थामा कर्टिस क्याम्फरले नवौं ओभरको दोश्रो, तेश्रो, चौंथो र पाँचौ बलमा लगातार विकेट लिंदै नेदरल्याण्डको मध्यक्रम तहसनहस पारे। त्यस क्रममा उनले कोलिन एंकरम्यानलाई क्याच आउट गरे भने त्यसपछि रायन टेन डोसे र स्कट एडवार्डलाई एलबिडब्लु पार्दै ह्याट्रिक पुरा गरे। त्यसपछि लगातार बलमा चौंथो विकेट पनि लिने क्रममा उनले भान डर मर्वेलाई बोल्ड गरे।
— Sports Hustle (@SportsHustle3) October 18, 2021
टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ४ बलमा लगातार ४ विकेट लिने कर्टिस क्याम्फर इतिहाँसकै मात्र तेश्रो बलर हुन् भने टि-ट्वान्टी विश्वकपमा यस्तो कीर्तिमान बनाउने इतिहाँसकै पहिलो क्रिकेटर बनेका छन्। यस अघि श्रीलंकन फास्ट बलर लासिथ मालिंगाले २०१९ मा न्युजिल्यान्ड बिरुद्ध तथा राशिद खानले सोहि वर्ष आयरल्याण्ड बिरुद्ध लगातार ४ बलमा विकेट लिएका थिए।
