नामिबियालाई ७ विकेटले पराजित गर्दै श्रीलंकाले युएई र ओमानमा संयुक्त रुपमा जारि टि-ट्वान्टी विश्वकप २०२१ मा विजयी सुरुवात गरेको छ।
युएईको शेख जायद स्टेडियममा सम्पन्न समुह ‘ए’ अन्तर्गतको खेलमा नामिबियाले दियेको ९७ रनको लक्ष्य श्रीलंकाले मात्र ३ विकेट गुमाएर १३.३ ओभरमै भेटायो।
लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले सुरुवाती ३ विकेट २६ रनमै गुमायो। चौंथो विकेटको लागि अभिस्का फर्नान्डो र भानुका राजापक्षले अविजित ७४ रनको साझेदारी गर्दै जितसम्म पुर्याए। फर्नान्डोले अविजित ३० तथा राजापक्षले अविजित ४२ रन बनाए। नामिबियाको बलिंगमा रुबेन ट्रंपलम्यान, बर्नार्ड स्कोल्ज र जेजे स्मिथले समान १ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको नामिबियाले १९.३ ओभरमा सबै विकेट गुमाएर ९६ रन बनाएको थियो। उसको लागि क्रेग विलियम्सले सर्वाधिक २९, कप्तान जेरार्ड इरासमसले २० तथा जेजे स्मितले अविजित १२ रन बनाए। ७३ रन बनाउदा मात्र ३ विकेट गुमाएको अवस्थामा विलियम्स आउट भएपछि लगातार विकेट गुमाएको नामिबियाले त्यसपछि योगफलमा थप २३ रन जोड्दा सम्पूर्ण विकेट गुमायो।
श्रीलंकाको बलिंगमा अफस्पिनर महेश थिक्शानाले सर्वाधिक ३ विकेट ( ४-०-२५-३ ) लिए भने लाहिरु कुमारा ( ३.३-०-९-२ ) र वानिन्दु हसरंगाले ( ४-०-२४-२ ) ले समान २ विकेट लिए। चमिका करुनारत्ने र दुश्मन्था चमिराले समान १ विकेट लिए।
समुह ‘ए’ अन्तर्गतको आजै सम्पन्न पहिलो खेलमा आयरल्याण्डले नेदरल्याण्डलाई ७ विकेटले पराजित गरेको थियो।
प्रतियोगिता अन्तर्गत मंगलबार समुह ‘बि’ अन्तर्गत दुई खेल हुनेछन्। ओमान स्थित अल अमिरात मैदानमा हुने दुवै खेलमध्ये पहिलो खेल स्कटल्याण्ड र पपुवा न्यु गिनी बीच बेलुका ३:४५ बजे तथा दोश्रो खेल ओमान र बंगलादेश बीच राति ७:४५ बजे सुरु हुनेछ। आफ्नो पहिलो खेलमा पपुवा न्यु गिनी र बंगलादेशले हार बेहोरीसकेका छन्।
