शाकिब अल हसनले शानदार अलराउण्ड प्रदर्शन गर्दा पपुवा न्यु गिनीलाई ८४ रनको विशाल अन्तरले पराजित गर्दै बंगलादेश युएई र ओमानमा जारी टि-ट्वान्टी विश्वकपको समुह ‘बि’ बाट सुपर-१२ चरण प्रवेश गरेको छ। पहिलो खेलमा स्कटल्याण्डसंग ६ रनले पराजित भएको बंगलादेशले दोश्रो खेलमा आयोजक ओमानलाई २६ रनले पराजित गरेको थियो।
ओमानको अल अमिरात मैदानमा सम्पन्न खेलमा बंगलादेशले दिएको १८२ रनको लक्ष्य पछ्याएको पपुवा न्यु गिनी १९.३ ओभरमा ९७ रनमै समेटियो। समुह चरणको सबै तिन खेलमा हार पछि पहिलो पटक विश्वकपमा सहभागी पपुवा न्यु गिनी पहिलो चरणबाटै बाहिरिएको छ।
लक्ष्य पछ्याउने क्रममा अत्यन्त खराब ब्याटिंग गरेको पपुवा न्यु गिनीले पहिलो ७ विकेट २९ रनको योगफलमै गुमाएको थियो। आठौँ नम्बरमा ब्याटिंग गरेका विकेटकिपर ब्याट्सम्यान किप्लिन डोरिगाले अविजित ४६ रन बनाउदै लज्जास्पद योगफलमा समेटिनबाट बचाए।
बंगलादेशका देब्रे हाते स्पिनर शाकिब अल हसनले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभर बलिंग गर्दै मात्र ९ रन खर्चिए। यस्तै मोहम्मद सैफुद्दीन ( ४-०-२१-२ ) र तास्किन एहमदले ( ३.३-१-१२-२ ) समान २ विकेट तथा मेहदी हसनले १ विकेट लिए।
टस जितेर ब्याटिंग गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १८१ रन बनायो। उसको लागि कप्तान महमुदुल्लाहले सर्वाधिक ५० रन बनाए जुन क्रममा मात्र २८ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। शाकिब अल हसनले ३७ बलमा ३ छक्का मद्दतले ४६ रन बनाए। लिटन दासले २९, अफिफ होसेनले २१ तथा सैफुद्दीनले अविजित १९ रन बनाए।
ओपनर मोहम्मद नैम पहिलो ओभरमै आउट भएपछि शाकिबले दोश्रो विकेटको लागि लिटन दाससंग ५० रनको साझेदारी गरेका थिए। शाकिब १४ औं ओभरमा असद भालाबाट क्याच आउट भए जसपछि महमुदुल्लाहले अफिफसंग ४३ रनको साझेदारी गरे। अन्तिममा सैफुद्दीनले आक्रामक ब्याटिंग गरे।
पपुवा न्यु गिनीको बलिंगमा कबुवा मोरीया ( ४-०-२६-२ ), डामियन राभु ( ४-०-४०-२ ) र असद भाला ( ३-०-३६-२ ) ले समान २ विकेट तथा सिमोन अटाईले १ विकेट लिए।
समुह ‘बि’ बाट सुपर-१२ चरण पुग्ने दोश्रो टिम आज हुने ओमान र स्कटल्याण्ड बीचको खेल पछि हुनेछ। ओमानले स्कटल्याण्डलाई पराजित गरेको खण्डमा ओमान र स्कटल्याण्डको समान ४ अंक हुनेछ र नेट रन रेटमा ओमान अघि हुनाले ओमान सुपर-१२ चरण पुग्नेछ। स्कटल्याण्ड विजयी भएको खण्डमा स्कटल्याण्ड समुह विजेताको रुपमा सुपर-१२ चरण प्रवेश गर्नेछ भने ओमान पहिलो चरणबाट बाहिरिनेछ।

समुह ‘बि’ मा उत्कृस्ट हुने टिम सुपर-१२ चरणमा समुह ‘२’ मा भारत, पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तान रहेको समुहमा हुनेछ। यस्तै समुह ‘बि’ को दोश्रो हुने टिम समुह ‘१’ मा इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रीका र वेस्टइन्डिज रहेको समुहमा हुनेछ।
