T20WC : जित्ने पर्ने खेलमा ओमानद्वारा स्कटल्याण्डलाई १२३ रनको लक्ष्य

२०७८ कार्तिक ४, बिहीबार २१:२४

ओमान र युएईमा संयुक्तरुपमा जारी टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरण प्रवेश गर्न ‘गर या मर’ को अवस्थामा आयोजक ओमान र स्कटल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्।

ओमानको अल अमिरात मैदानमा टस जितेर ब्याटिंग गरेको ओमानले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाउदै स्कटल्याण्डलाई १२३ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमानको ब्याटिंगमा अकिब इल्यासले सर्वाधिक ३७ रन, जिशान मक्सुदले ३४ रन तथा मोहम्मद नदीमले २५ रन बनाए।

खराब सुरुवात गरेको ओमानले १३ रनमै २ विकेट गुमायो। त्यसपछि अकिब इल्यासले मोहम्मद नदीमसंग ३८ रन जोडे। दशौँ ओभरमा इल्यास आउट भए जसपछि नदीमले कप्तान जिशान मक्सुदसंग २८ रन जोडे। नदीम आउट भएपछि मक्सुदले एक किनार सम्हालेता पनि अर्को किनारमा लगातार विकेट गुम्यो। सन्दिप गौड, नसिम खुसि र सुरज कुमार लामो समय क्रिजमा जम्न सकेनन्। जोश डेभिले गरेको इनिंग्सको अन्तिम ओभरमा मक्सुद सहित तिन ओमान ब्याट्सम्यान आउट भए। इनिंग्सको अन्तिम ५ ओभरमा ओमानले ५ विकेट गुमाएर मात्र २८ रन बनाउन सक्यो।

स्कटल्याण्डको बलिंगमा जोश डेभिले सर्वाधिक ३ विकेट ( ४-०-२५-३ ) लिए। माइकल लिस्क ( ३-०-१३-२ ) र सफ्यान सरिफ ( ४-०-२५-२ ) ले समान २ विकेट लिए। मार्क वाटले १ विकेट लिए।

समुह ‘बि’ बाट बंगलादेश सुपर-१२ चरण प्रवेश गरिसकेको छ भने पपुवा न्यु गिनी बाहिरिसकेको छ। ओमान र स्कटल्याण्ड बीच खेलको विजेता टिम बंगलादेशसंगै समुह ‘बि’ बाट सुपर-१२ चरण प्रवेश गर्नेछ भने पराजित हुने टिम पहिलो चरणबाट बाहिरिनेछ। स्कटल्याण्ड विजयी भएको खण्डमा समुह ‘बि’ को विजेता समेत बन्ने निश्चित छ। स्कटल्याण्डले यस अघि दुवै खेल जितेपनि आज पराजित भएको खण्डमा बंगलादेश र ओमानसंग समान ४ अंक रहेता पनि नेट रन रेटमा पछि पर्दै तेश्रो स्थानमा रहनेछ। अर्कोतर्फ ओमानले एक जित र एक हार बेहोरेको हुँदा जित दर्ता गरे नेट रन रेटमा स्कटल्याण्डलाई पछि पार्नेछ।

स्कटल्याण्डले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ६ रनले तथा दोश्रो खेलमा पपुवा न्यु गिनीलाई १७ रनले पराजित गरेको थियो। ओमानले पहिलो खेलमा पपुवा न्यु गिनीलाई १० विकेटले पराजित गर्दा दोश्रो खेलमा बंगलादेशसंग २६ रनको हार बेहोरेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy